मधेशमा कृषि तथा पशुपन्छी सेवा केन्द्र धमाधम स्थापना हुँदै, ३५ पालिकामा सेवा सुरू

लाभ लिन नसकेको गुनासो
पुस ७, २०८२ |अनिल मिश्र
मधेशमा कृषि तथा पशुपन्छी सेवा केन्द्र धमाधम स्थापना हुँदै, ३५ पालिकामा सेवा सुरू

जनकपुर । स्थानीय तहबाट प्रवाह हुने कृषि सेवामा सहजता ल्याउने उद्देश्यले संघीय सरकारले मधेशमा धमाधम कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरेको छ । 

विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरले मधेश प्रदेशका ८४ वटा स्थानीय तहमा दुई अर्बभन्दा बढी लागतमा निर्माण गर्ने लक्ष्यसहित प्रथम चरणमा ३५ वटा पालिकामा स्थापना भएका कृषि सेवा केन्द्रले सोचेअनुसारको सेवा प्रवाह गर्न सकेको छैनन् । 

उपकरणसहित सुविधासम्पन्न भवन हस्तान्तरण गरे पनि जनप्रतिनिधिहरू उत्तरदायी नदेखिएकै कारण किसानहरूले उचित लाभ लिन सकेका छैनन् । देशैभरिमा मधेश प्रदेश कृषिका लागि सबैभन्दा अब्बल भए पनि सिँचाइ र मलखादको उपलब्धताको वर्षौंदेखिको मार झेल्दैआएका किसानलाई बजार व्यवस्थापनको अभावमा जसोतसो उब्जाएको अन्नको उचित भाउ पाउन मुस्किल छ । 

किसानका यावत समस्यालाई राहत दिने उद्देश्यले संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेशका ३५ वटा पालिकामा पशुपन्छी तथा कृषि सेवा केन्द्र स्थापना गरेको छ । विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरले जनकपुरधाम उपमहानगरपालिका २३ को बेलौनीमा २ करोड ६४ हजार लागतमा सेवा केन्द्र निर्माण गरी चार महिनाअघि स्थानीय सरकारलाई हस्तान्तरण गरे पनि उद्देश्यअनुसारको काम भने हुनसकेको छैन । 

एकजना पशुरोग विशेषज्ञ र एकजना नगरप्रहरीलाई रेखदेख र सेवा प्रवाहका लागि खटाए पनि उपमहानगरपालिकाले अहिलेसम्म यसमा बिजुली बत्तीसमेत जडान गर्न चासो देखाएको छैन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरमा २ करोड ४२ लाख ३९ हजार र हुलाकी राजमार्गअन्तर्गत जनकपुरधामदेखि २५ किलोमिटर पूर्वमा रहेको कमला नगरपालिकाको माचीमा पनि १ करोड ९७ लाख २२ हजारभन्दा बढीको लागतमा पशुपन्छी तथा कृषि सेवा केन्द्र स्थापना भएको छ ।

ढल्केबरको कृषि सेवा केन्द्र सञ्चालनमा रहे पनि कमलामा भने कर्मचारी अभावका कारण एक जना पनि किसानले सेवा पाउनसकेको छैन । उद्देश्यअनुसारको सेवा प्रवाह त के उद्घाटनपछि कमला नगरपालिकाको कार्यालयसामुन्ने रहेको कार्यालयमा लगाइएको ताला अहिले सम्म खुलेको छैन् ।

सुविधासम्पन्न भवन देखेर आफ्नो कार्यालय सञ्चालनका लागि कब्जा गर्न खोजे पनि कृषि शाखाका कर्मचारी र किसानहरूको विरोधका कारण मिथिला नगरपालिकाका प्रमुख र उपप्रमुखले सोचेअनुसारको हुन सकेन । अहिले किसानहरू दिनहुँ कृषि सेवा लिन आउने गर्छन् ।

धनुषामा ६, महोत्तरीमा ४, सर्लाहीमा ४, रौतहटमा ४, बारामा ४, पर्सामा ३, सिरहामा ५ र सप्तरीमा ५ सहित पहिलो चरणमा ८७ करोड ४४ लाखभन्दा बढीको लागतमा निर्माण गरी उपकरणलगायतका सामग्रीसहित हस्तान्तरण गरिएका ३५ वटा सेवा केन्द्र पशुपन्छीका लागि मिनी अस्पताल नै रहेको छ । 

विशिष्ट उद्देश्यसहित स्थापना गरिएको सेवा केन्द्रमा पशुपन्छीको ससाना शल्यक्रियादेखि ज्वरो, गोबर, पिसाब, रेपीट जाँचलगायत माटो परिक्षण, बाली परिक्षण, बीउ परीक्षण र बीउ उपचारको समेत व्यवस्था छ । किसानहरूलाई व्यावसायिक खेती र पशुपालनमा आकर्षित गर्न अनुदान समेत उपलब्ध गराउँदै आएको हुनाले स्थानीय तहका जनप्रतिनिधिहरू गम्भीरता देखाएमा निकट भविष्यमा पशुपन्छी तथा कृषि सेवा केन्द्रको काम प्रभावकारी देखिने विश्वास छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।