
जुम्ला । जुम्लाको तातोपानी-४ की गंगा उपाध्याय अहिले पन्छीपालनमा व्यस्त हुनुहुन्छ ।
तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी गंगाको पन्छी फार्म अहिले आकर्षणको केन्द्र बनेको छ । युट्युब हेरेर पन्छीपालनमा लागेको बताउने गंगा अहिले त्यस क्षेत्रमा उदाहरणीय बन्नुभएको छ । २०७८ मंसिरमा गौतम पन्क्षीपालन व्यवसाय थालेकी गंगा अहिले नमुना पन्छीपालकका रूपमा जिल्लामै चिनिनुभएको छ ।
उहाँको फार्ममा हाँस, स्थानीय जातका कुखुरा र कालिज पालिएको छ । गाउँपालिका उपाध्यक्ष छँदै पन्छीपालन गर्ने सोच बनाएकी गंगाले व्यवसाय अंगालेर राजनीतिमा लाग्दा सहज हुने निष्कर्ष निकाल्नुभयो । सुरूमा दियालो बहुद्देश्यीय सहकारी संस्थाबाट ६ लाख रूपैयाँ ऋण झिकेर दाङदेखि २ सय ५० वटा कालिज ल्याउनुभयो । जुम्ला पुर्याउँदासम्म प्रति कालिजको ४ हजार रूपैयाँ पर्न गयो ।
गाउँपालिका उपाध्यक्ष भइसकेको मान्छेले के चरा पालेर बस्लिन् र भनेर अविश्वास गर्नेहरू अहिले उहाँकै सिको गरिहेका छन् । २०८० सालमा उहाँसँग १ हजार २ सय कालिज थिए । बारीमा कालिजको करकर र हिँडडुलले उहाँलाई झनै हौसला दियो । पन्छीपालनमा रहर मात्रै भए अनुभव थिएन त्यसैले उहाँले धेरै किसानसँग परामर्श गर्नुभयो । निकै सस्तो मूल्यमा पाउने ब्रोइलर कुखुरासँग भर्खरै पाल्न थालिएको कालिजले प्रतिस्पर्धा गर्न त्यति सहज नभए पनि उहाँले हिम्मत हार्नुभएन ।
अहिले कालिजको माग अधिक छ । उहाँसँग १ सय ४० भन्दा धेरै कालिज छन् । तीन सयभन्दा धेरै स्थानीय जातका कुखुरा र ५० भन्दा धेरै हाँस छन् । अहिले कालिज खरिद गर्न ग्राहकहरू फार्म खोज्दै आइपुग्ने गरेका छन् । धेरै ग्राहक सेना, प्रहरी, कर्मचारी भएको उहाँ बताउनुहुन्छ । कालिजको माग धान्नै धौधौ छ । अहिले पोथी कालिजको दुई हजार र भाले कालिजको ३ हजार रुपैयाँ मूल्य छ ।
लोकल कुखुराको मूल्य पनि कालिजकै हाराहारीमा छ । तर पन्छीपालनमा धेरै चुनौती छ । ३ हजार ७ सय वर्गमिटरमा फैलिएको गंगाको पन्छी फार्म अहिले जिल्लाकै ठूलो व्यवसायमा पर्छ । १ सय ५० जनाभन्दा बढीलाई रोजगारी दिइरहेकी गंगाको २० लाखको हाराहारीमा पन्छीपालनबाट कारोबार हुने गरेको छ ।