
काठमाडौं । फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनामा राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल अघि बढाएको छ।
वैकल्पिक शक्तिहर"बीच एकता वा कार्यगत एकताको प्रयासमा रहेको रास्वपाले गरिरहेको छलफलमा बालेन्द्रलाई प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा अघि बढाउन सकिनेमा छलफल भइरहेको रास्वपा नेता शिशिर खनालले खुलासा गर्नुभएको हो ।
चुनावमा सहभागी हुँदा सभापतिमा फिर्ता भएका रवि लामिछाने स्वाभाविक उम्मेदवार भए पनि उहाँमाथि सहकारी ठगी र संगठित अपराधका मुद्दा चलिरहेकाले विकल्पका बारेमा रास्वपाले छलफल चलाइरहेको हो। विकल्पका रूपमा उज्यालो नेपाल पार्टीको अगुवाइ गरिरहनुभएका मन्त्री कुलमान घिसिङको नाममा पनि छलफल भए पनि अब त्यो सम्भावना कम हुँदै गएको खनालले बताउनुभयो।
कान्तिपुर टेलिभिजनको सोमबार राति प्रसारण हुने कार्यक्रम 'फायरसाइड'मा कुराकानी गर्दै खनालले भन्नुभयो,'राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेर प्रधानमन्त्रीकै रूपमा देशलाई निकास दिन सक्ने अन्य पात्रका बारेमा पनि सोच्नुपर्ने बाध्यतामा हामी छौं । त्यस अर्थमा कुलमानजी हाम्रा लागि स्वाभाविक पात्र हो। त्यसबाहेक काठमाडौंका मेयरसाब पनि अर्को पात्र हुन सक्नुहुन्छ।'
सभापति लामिछाने पहिलो नाम भए पनि कानुनी अड्चनका कारण अन्य पात्रमा छलफल गर्नुपर्ने स्थिति रहेको स्पष्ट पार्दै खनालले हाल बालेन्द्र पक्षसँग छलफल भइरहेको बताउनुभयो। 'सकेसम्म लचक भएर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, नीति, नेतृत्व र चिन्हमा सबै व्यक्तिलाई समाहित गर्ने काममा हामी लागिरहेका छौं,' खनालले कुलमानसँग केही साताअघिसम्म भएको छलफलले सकारात्मक रूप नलिएपछि अर्को विकल्पका रूपमा बालेन्द्रसँग 'नेगोसिएसन' भइरहेको उल्लेख गर्नुभयो।
पार्टीमा सभापति लामिछानेकै नेतृत्व रहने र पार्टीको नाम, नीति र चुनाव चिन्ह साबिककै राखेर सहमति गर्ने प्रयासमा संवाद भइरहेको खनालको भनाइ छ। सबै सर्तमा सहमति नभए चुनावी सहकार्यको बाटो खुला नै रहेको खनालले बताउनुभयो।
खनालसँगको पूरा अन्तर्वार्ता सोमबार राति ९ बजे कान्तिपुर टिभीमा प्रसारण हुने कार्यक्रम फायरसाइडमा हेर्न सकिनेछ।