सल्यान । सल्यानको कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चुनढुङ्गा बोक्ने टिपरहरू बन्द गराएका स्थानीयहरू मंसिर २४ गतेदेखि आन्दोलित छन् ।
कच्ची सडकमा अत्यधिक भारवहन क्षमताका कारण सडक जीर्ण बनेपछि आफ्नो दैनिकी, स्वास्थ्य र बालबालिकाको सुरक्षामा गम्भीर असर परेको भन्दै उनीहरूले पूर्णरूपमा टिपर सञ्चालनमा रोक लगाएका हुन् । सडक कालोपत्रेको पहल नहुँदासम्म टिपर चल्न नदिने उनीहरूले घोषणा गरेका छन् ।
कपुरकोटदेखि रोल्पाको कोइलाखानीसम्मको ११ किलोमिटर कच्ची सडकमा रोल्पा सिमेन्ट उद्योग प्रालि र घोराही सिमेन्टका टिपर चल्न लागेको थुप्रै वर्ष भयो । यस सडक खण्डमा दैनिक १ सय ५० भन्दाबढी टिपर गुड्छन् । टिपरहरूको अत्यधिक भारका कारण सडक जीर्णसँगै धुलाम्य बन्दै गएपछि स्थानीय आन्दोलित छन् । बाटो मर्मतमा राज्यले ध्यान नदिएको र उद्योगले पहल नगरेको भन्दै यहाँका स्थानीयले अहिले पूर्णरूपमा टिपर सञ्चालनमा रोक लगाएका छन् ।
यसअघि रोल्पा सिमेन्ट प्रालि, चुनढुङ्गासम्बन्धी उद्योग र कपुरकोट गाउापालिकाबीच पटकपटक सहमति भए पनि कार्यान्वयन नहुादा स्थानीय निराश बनेका थिए । २०७९ मा भएको सात बुादे सहमति र त्यसपछिका सम्झौताहरू उद्योगहरुले पालना नगरेको उनीहरूको आरोप छ । अन्तिम विकल्पका रूपमा स्थानीयले सडक कालोपत्रे नहुँदासम्म टिपर बन्द गराएका हुन् । अटेर गरेर टिपर चलाउन खोजिए अप्रिय स्थिति आउनसक्ने चेतावनी उनीहरूले दिएका छन् ।
स्थानीयको विरोधमा गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाले समेत समर्थन गरेका छन् । कपुरकोट गाउँपालिकाले सूचना जारी गरी स्थानीयले दैनिकरूपमा विरोधका कार्यक्रमलाई निरन्तरता दिएकाले सडकको स्तरोन्न्ती नहुँदासम्म चुनढुङ्गा बोक्ने टिपरहरू रोक्न आग्रह गरेको छ । उद्योगलाई वार्ता र संवादको माध्यामबाट समस्याको समाधान खोज्नसमेत आग्रह गरिएको छ ।
रोल्पा र घोराही सिमेन्ट लुम्बिनी प्रदेशमा पर्ने तर कर्णाली प्रदेशको बाटो प्रयोग गरेर आफूलाई सास्ती दिएको आरोप स्थानीयले लगाएका छन् । दैनिकीमै असर पर्दासमेत सडकको स्तरोन्नतीमा राज्यले चासो नदिएको उनीहरूको आरोप छ ।