
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आजबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । योसँगै काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रूपैयाँ पुगेको छ । पेट्रोलमा यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगेको छ ।
१ चैतमा निगमले १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७२ र डिजेल-मट्टितेलको मूल्य १ सय ५२ रूपैयाँ पुर्याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर १ सय ८७ रूपैयाँ र डिजेल-मट्टितेलको मूल्य १ सय ६७ रूपैयाँ पुर्याएको थियो ।
आयल निगमले यो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिकरूपमा ११ अर्ब ७१ करोड घाटा रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । साथै विषम परिस्थिति भएकाले उपभोक्ताहरूलाई पनि पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले आग्रह गरेको छ ।