.png&w=1000&height=550)
रूकुम पूर्व । आधारभूत विकासको पहिलो सर्त हो, सडक ।
यसपछि मात्रै विकासका अरू सम्भावनाहरू खुल्दै जान्छन् । तर रूकुमपूर्वमा केही यस्ता गाउँबस्ती छन् जसले अहिले पनि सडक र सवारी पर्खिरहेका छन् । सडकको पहुँच नपुगेका रूकुम पूर्वका गाउँबस्तीका नागरिकको दैनिकी कष्टकर त छ नै स्थानीय उत्पादनको बजार पहुँचसमेत कठिन ।
जिल्लाका तीनवटा पालिकामध्ये भुमे गाउँपालिकामा मात्रै सबै वडामा सडक पुगेको छ । बाँकी दुईवटा पालिका पुथाउत्तरगंगा र सिस्नेका केही वडामा अहिलेसम्म पनि सडक-सुविधा नहुँदा स्थानीयलाई सास्ती छ । पुथाउत्तरगंगाका १४ वडामध्ये सातवटामा मात्रै सडकको पहुँच पुगेको छ । त्यस्तै सिस्ने गाउँपालिकाको वडा नम्बर १ र २ मा पनि सडक नपुग्दा सर्वसाधारणको दैनिकी कष्टकर छ ।
सडक नहुँदा दैनिक उपभोग्य सामान मान्छे आफैंले अथवा घोडा-खच्चडमा बोकाएर ल्याउनुपर्ने बाध्यता यी ठाउँका नागरिकलाई छ । दुःख-बिमार पर्दा पनि मान्छेकै काँधको भर छ । चुनावका बेला भोट माग्न आउनेले 'बाटो बनाउछौं, मोटर पुर्याउछौं' भन्ने तर पछि अर्को चुनावसम्म फर्केर नआउने गुनासो यस भेगका नागरिकको छ ।
पुथाउत्तरगगां-२ पेल्मासम्म सडकको ट्रयाक खोल्न नै बाँकी छ भने वडा नं. १ मैकोटमा सानीभेरी नदीमा पुल नहुँदा पानीको बहाब बढ्नेबित्तिकै गाडी चल्न मुस्किल पर्छ । त्यस्तै वडा नं. ३,४,७,८ र ९ का बस्तीसम्म जाने सडकको ट्रयाक जसोतसो खोलिए पनि सवारी चल्ने अवस्था छैन भने, सिस्नेको १ र २ मा सडकको छेउटुप्पो नै पुगेको छैन् ।
ठूलो लागतमा काम गर्नुपर्ने भएकाले पालिका एक्लैले सडक र पुल निर्माणको काम गर्न बजेट अभाव हुने स्थानीय सरकार बताउँछ । दाङबाट रोल्पा हुँदै रूकुमपूर्वको मैकोटलाई जोड्ने निर्माणाधीन शहीद मार्गले गति लिएमा धेरै हदसम्म यस भेगको आवतजावत सहज हुनेछ । तर यसबाहेक पनि धेरै क्षेत्रमा सडक-निर्माणको काम गर्नुपर्ने हुन्छ ।
ट्रयाक मात्रै खोलिएका ठाउँमा सडक-सुविधा पुर्याउन झन्डै आधा दर्जन पुलहरू बनाउनुपर्ने देखिन्छ । यसका लागि तिनै तहका सरकाको सक्रियता जरूरी छ । सडक-सुविधा पुगेपछि यहाँका जनताको दैनिकी त सहज हुनेछ नै साथ-साथै, ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने पुथाउत्तरगंगा र सिस्नेका यी ठाउँहरूमा पर्यटन विकासमा पनि ठूलो टेवा पुग्ने देखिन्छ ।