प्रदूषणको चपेटामा काठमाडौं, मापन मेसिन नै बिग्रिएपछि सरकारमाथि प्रश्न

फाल्गुन १, २०८२ |विकास आचार्य
प्रदूषणको चपेटामा काठमाडौं, मापन मेसिन नै बिग्रिएपछि सरकारमाथि प्रश्न

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश सहर वायु प्रदूषणको चपेटामा परेका छन् । 

देशभर सवारीसाधन तथा कलकारखानाबाट उत्सर्जन हुने धुँवा, निर्माणस्थलबाट उड्ने धुलोसहित छिमेकी देशबाट नेपाल प्रवेश गर्ने प्रदूषणले जनजीवन प्रभावित बनाएको छ । तर, नेपालमा भने वायु प्रदूषण मापन गर्ने ३० मध्ये १९ मेसिन बिग्रिएर थन्किएको छ ।

एक सातायता काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरहरूमध्येमा परिरहेको छ । शुक्रबार बिहान त काठमाडौँ चौथो स्थानमै पुग्यो । रत्नपार्क क्षेत्रमा प्रदूषण ९० पीएम टु पोइन्ट फाइभ रेकर्ड भयो । पीएम २.५ भनेको हावामा पाइने अति सूक्ष्म धुलोका कणहरू हुन् । यी कणहरू यति साना हुन्छन् कि सास फेर्दा फोक्सोको गहिरो भागसम्म पुग्न सक्छन् र रगतसम्म पनि प्रवेश गर्न सक्छन् । 

जनस्वास्थ्यको दृष्टिकोणबाट यो अत्यन्तै हानिकारक हो । किनकि, वायु प्रदूषणबाट नेपालमा वार्षिक ४१ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । रत्नपार्कमै बिहीबार बिहान ९:४५ मा भने ११३.७ पीएम टु पोइन्ट फाइभ रेकर्ड भएको थियो । अब अनुमान गर्नुस् काठमाडौं कति प्रदूषित छ ।

शुक्रबार प्रदूषण थोरै घट्नुको कारण भने मौसममा आएको बदली हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा अद्यावधिक गरेको मार्ग निर्देशनअनुसार पीएम टु पोइन्ट फाइभ वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघन मिटरभन्दा बढी हुनु हुँदैन । तर सन् २०२४ मा नेपालको पीएम टु पोइन्ट फाइभ वार्षिक औसत ४२.८ थियो । अर्थात् औसतभन्दा करिब ९ गुणा बढी । 

त्यस्तै २४ घन्टामा पीएम टु पोइन्ट फाइभ औसत १५ माइक्रोग्राम प्रतिघन मिटरभन्दा बढी हुनु हुँदैन । तर, रत्नपार्क स्टेसनमै पीएम टु पोइन्ट फाइभ एक सयभन्दा बढी देखिनुले सरकारले वायु प्रदूषण नियन्त्रणलाई प्राथामिकतामा नराखेको बुझिने वातावरणविद् तुलाधर बताउनुहुन्छ ।

सरकार र सरकारी संयन्त्रले प्रदूषणलाई कतिसम्म बेवास्ता गरेका छन् भने प्रदूषण मापन गर्ने देशभरका ३० मध्ये १९ मेसिन बिग्रिएको छ । अर्कोतिर २०८१ सालमै पुनरावलोकन गर्नुपर्ने वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा वातावरण विभाग अहिलेसम्म पनि सुझाव मागेर बसिरहेको छ ।

काठमाडौं उपत्यकामा तत्काल वर्षा नभए प्रदूषणको मात्रा अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यसमाथि डढेलो लागे स्थिति झन् भयावह हुने देखिन्छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।