मधेशका दलित बस्तीमा आश्वासनको ओइरो, आधारभूत अधिकार अझै अपूरो

फाल्गुन १, २०८२ |अनिल मिश्र
मधेशका दलित बस्तीमा आश्वासनको ओइरो, आधारभूत अधिकार अझै अपूरो

धनुषा । चुनावको मिति नजिकिएसँगै उम्मेदवार र दलको नजर विगतमा जस्तै मधेश प्रदेशका दलित बस्तीमा छ । 

मतका लागि सबै दलका नेता कार्यकर्ता दलित र गरिब बस्तीमा पुगेर मतदातालाई अनेक आश्वासन र प्रलोभन बाँड्दै छन् । ठूलो संख्या ओगेटेको दलितलाई राजनीतिक दलहरूले भोट बैंकको रूपमा प्रयोग गर्दै आए पनि उनीहरूको जीवनस्तर उकास्न भने जनप्रतिनिधिले खासै काम गरेको देखिँदैन । 

जबकि देशभर उच्च गरिबी भएका १० मध्ये ६ जिल्ला मधेशमै छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि १६ किलोमिटर उत्तर मिथिला नगरपालिकाको यो हरिहरपुर गाउँ हो । एक घर डोम र १२ घर मुसहर परिवारको बसोबास छ । यिनीहरूलाई विश्वनाथप्रसाद उपाध्यायले आफ्नो निजी जग्गामा बसाएका हुन् । 

पुस्तेनी साहु महाजनको खेतबारीमा मजदुरी गरी गुजारा गर्दै आएका मुसहरहरूको अवस्था दयनिय छ । रोजगारीको अभावमा अरूकोमा मजदुरी नगरे उनीहरूको दुई छाकको जोहो हुँदैन । संघीय व्यवस्था लागू भएयता तेस्रो कार्यकालका लागि प्रतिनिधि सभा निर्वाचनको तिथि नजिकिँदै गएपछि राजनीतिक दल र उम्मेदवारहरू दलित र पिछडिएका गाँउ बस्तीमा पुग्ने क्रम बढेको छ । 

नागरिकको जीवनस्तर सुधार्छु भन्दै भोट लिएर गएपछि मुख देखाउन समेत नआएका जनप्रतिनिधि र विभिन्न दलका नेताहरू अहिले त राति सुतेको बेला पनि भोटका लागि घर बस्ती चहार्ने गरेका छन् । मधेशको आठै जिल्लामा दलित र आर्थिक रूपमा कमजोर विपन्नहरूको बाक्लो बस्ती छ । 

पानीको स्रोतका रूपमा बस्तीमा केही चापाकल छन् । खुलाचौर नै अधिकांशको शौचालय हो । उचित शिक्षा, स्वास्थ्य उपचार र रोजगारीबाट वञ्चित उनीहरू बिहानको छाक पछि बेलुका के खाने भन्ने पिरलोमा हुन्छन् । तर, वर्षौंदेखि ठगिएका नागरिकताविहीन दलित परिवारको विवाहदर्ता, जन्मदर्ता, अपाङ्गता परिचयपत्र, सहुलियत दरमा रासन पानीको व्यवस्था, बस्न लागि आवासलगायतका समस्या समाधानतर्फ ध्यान नदिएको यिनीहरूको गुनासो छ ।

मधेशको कुल ३६ लाख ३६ हजार ४ सय २४ जना मतदातामध्ये आर्थिक रूपमा शोषित, सामाजिक रूपमा बहिस्कृत र शैक्षिकरूपमा पछि पारिएका १७ प्रतिशत भन्दाबढी दलित मतदाताको संख्या छ । देशको १० उच्च गरीब जिल्लाको सूचीमा मधेशकै ६ जिल्ला उच्च गरीबीको सूचीमा रहेको छ । 

एक तथ्यांकअनुसार रौतहटमा ३२ दशमलव ३३, सर्लाहीमा २६ दशमलव ७, बारामा २५ दशमलव ८२, सप्तरीमा २५ दशमलव ३७, धनुषामा २० दशमलव ९ र महोत्तरीमा २४ दशमलव १ प्रतिशत जनसंख्या गरीब छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।