प्रतिनिधि सभा निर्वाचनमा मतदाताको अपेक्षा के ?

फाल्गुन १, २०८२ |कृपाल गौतम
प्रतिनिधि सभा निर्वाचनमा मतदाताको अपेक्षा के ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा भोट माग्दै तपाईँको घरदैलोमा पुग्ने उम्मेदवारसँग तपाईँ के माग्नुहुन्छ ? 

देशका सहरी र सुगम भेगका मतदाताको आवश्यकता र ग्रामिण तथा दुर्गम भेगका मतदाताको आवश्यकता भूगोलअनुसार फरक छन्। निर्वाचनले देशभरका नागरिकका व्यापक रूपमा भिन्नभिन्न मागहरूलाई सतहमा ल्याइदिएको छ। कतै ट्राफिक व्यवस्थापनको माग हुँदा कतै हिँड्ने सडक र बिरामीका लागि एम्बुलेन्सको माग छ। 

कतै गुणस्तरीय र प्रतिस्पर्धी शिक्षाको माग छ भने कतै विद्यालयको भवन बनाइदिनुपर्‍यो भन्दै छन् मतदाता। कतिपय निर्वाचन क्षेत्रमा त निर्वाचन जितेपछि बेलाबेला जिल्ला फर्किएर नागरिकका दु:ख-सुखका कुरा सुनेमात्रै पनि आफू खुसी हुने मतदाताले बताइरहेका छन्। निर्वाचनले देशमा व्याप्त आधारभूत सेवा र विकासमा पहुँचको असमानता मात्र होइन, एकै देशका नागरिकबीचमा सपना र सोचको असमानता पनि उजागर गरेको छ।

नेपालमा सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। झन्डै १२ सय कलेज सञ्चालनमा छन्। तर प्रश्न आउँछ कि के यी संस्थामा सबै नेपालीका लागि समान अवसर छ त ? काठमाडौंमा महँगा विद्यालय र कलेज छ्यापछ्याप्ति छन्। अवसर त छ, तर प्रतिस्पर्धा भने चर्को। 

चाहेको ठाउँमा पढ्न सबैलाई सम्भव छैन। कञ्चनपुरमा सामान्य शिक्षा पाइन्छ, तर गुणस्तरीय शिक्षाका लागि अझै जिल्ला बाहिर वा विदेश नै जानुपर्ने बाध्यता छ। सल्यानमा भने आधारभूत शिक्षामै समस्या छ। सडक पूर्वाधारको अवस्था पनि उस्तै छ। काठमाडौंका सडक पिच छन्, तर समस्या ट्राफिक जाम । 

इटहरीमा सडकको समस्या फरक छ, भित्रि सडक निर्माण र मर्मत नहुनु । ताप्लेजुङका कतिपय स्थानमा त सडक नै पुगेको छैन। नेपालमा सात हजारभन्दा बढी स्वास्थ्य संस्था छन्। केन्द्रीय स्तरका २२ अस्पताल छन्। तर सेवा कहाँ कस्तो छ ? काठमाडौंमा उपचार सम्भव छ, तर सरकारी अस्पतालमा भीड, शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्छ । 

निजी अस्पताल महँगा, सबैको पहुँचमा छैनन्। धनुषामा अस्पताल छन्, तर पूर्वाधार र जनशक्ति अभाव। सरकारले निःशुल्क भनेका औषधिसमेत उपलब्ध नहुने गुनासो सर्वत्र छ । बाजुरामा भने आधारभूत उपचार नै पाउन कठिन छ। हुन त नेपालमा अहिले रोजगारीको निकै समस्या छ। तर काठमाडौंमा अवसर भए पनि प्रतिस्पर्धा बढी हुने भएकाले योग्य भए पनि जागिर पाउन मुस्किल छ । 

दाङमा रोजगारी अनुसारको तलब सुविधाको अभाव छ भने रामेछापमा रोजगारीकै अभाव । अर्थात् भूगोल अनुसार रोजगारीमा पनि समस्या छ । नेपालमा समस्या एउटै छैन। त्यसैले समाधान पनि एउटै हुन सक्दैन। चुनावका बेला भाषण र आश्वासन मात्रै होइन, कहाँ के आवश्यकता छ भन्ने पहिचान गरेर त्यसअनुसार योजना ल्याउन जरूरी छ ।

किनकि विकास नारा होइन, आवश्यकता अनुसारको निर्णय हो। त्यसैले अब विकासलाई कागजमा मात्र सीमित गर्न हुँदैन, नागरिकले अनुभूति गर्न सक्नुपर्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।