गरिब र दलितको निधनमा सहारा बनिरहेछ लहान नगरपालिका

पुस ४, २०८२ |विनय आजाद
गरिब र दलितको निधनमा सहारा बनिरहेछ लहान नगरपालिका

सिरहा । लहान नगरपालिकाले गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि राहत वितरण गर्दै आएको छ । 

जसअन्तर्गत नगरपालिकाले शुक्रबार दुई घर परिवारलाई राहत प्रदान गरेको छ । नगरपालिकाले लहान-५ बलुवाटोलकी मृतक ४० वर्षीया डोमनीदेवी मोची र लहान-१८ बासाजोरीका मृतक ७० वर्षीया बचकुनी सदायको परिवारलाई सामग्री प्रदान गरेको हो । उनीहरूलाई प्रतिपरिवार एक क्विन्टल चामल, तीन किलो दाल, तीन किलो नुन, तीन लिटर तेल र एक थान फाइबर सिरक दिइएको छ ।

यस्तै, उनीहरूले दिने निवेदनका आधारमा नगरपालिकाबाट क्रिया खर्चवापत पाँच हजार रूपैयाँ आर्थिक सहयोग पनि पाउने छन् । नगरपालिकाबाट प्राप्त सहयोगले केही राहत मिलेको र नगरपालिकाको यो कार्यक्रम गरिब तथा विपन्नका लागि निकै सहयोगी बनेको पीडित परिवार बताउँछन् ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने गरिब, दलित तथा विपन्नहरू यस्तो शोकको घडीमा विगतमा भोकै बस्नुपर्ने स्थिति देखेको र आफू निर्वाचित भए यता त्यसलाई अन्त्य गर्न यो कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयाे । २०७९ सालदेखि नै यो कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले शव जलाउनका लागि नगरबासीलाई दाउरासमेत उपलब्ध गराउँदै आएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।