१०औँ राष्ट्रिय खेलकुद : मिति तोकियो, गण्डकी प्रदेशमा तयारी शून्य- खेलाडी अन्योलमा

पुस २, २०८२ |भुपाल गुरुङ
१०औँ राष्ट्रिय खेलकुद : मिति तोकियो, गण्डकी प्रदेशमा तयारी शून्य- खेलाडी अन्योलमा

पोखरा । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गते देखि ७ गतेसम्म कर्णाली प्रदेशमा गर्ने तय गरेको छ । 

प्रतियोगिता आयोजना गर्न सरकारले चौथोपटक मिति तय त गर्‍यो । तर प्रतियोगिता आउन दुई महिना बाँकी हुँदासमेत गण्डकी प्रदेशमा कुने तयारी छैन । यत्तिसम्म कि मिति तय भएको एक महिना बितिसक्दा टिम तयारीको कुनै सुरसार छैन भने संघीय सरकारले तयारीका लागि कुनै औपचारिक सर्कुलरसमेत गरेको छैन ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा गत कात्तिक १९ गते बसेको राष्ट्रिय खेलकुद परिषद्को १२३औं बोर्ड बैठकले अगामी फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गर्‍यो । तेस्रो पटकसम्म मिति तोकेर स्थागित हुँदै आएको प्रतियोगिता मिति तय भए पनि तयारी भने सुरू नै हुन सकेको छैन । 

टिम तयारीबारे प्रदेशमा पत्राचार नै भएको छैन । गण्डकी प्रदेशले बोर्ड बैठकको सूचना आउनुअघि नै प्रदेश खेलकुद परिषद्को बैठक आह्वान गरी इच्छुक खेलाडीलाई नाम दर्ता गर्न जिल्ला र प्रदेशका खेल संघहरूलाई आग्रह गरेको छ । तर केन्द्रबाट तयारीका लागि कुनै पत्र नआउँदा प्रदेश खेलकुद परिषद् नै अन्यौलमा छ । 

मन्त्रिपरिषद्‌बाट तय मिति स्वीकृत भएको महिना दिन पुग्नलाग्दासमेत अर्को तयारी बैठक बस्नसकेको छैन । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा गरेको छ भने कर्णालीमा खेल पूर्वाधार अभावलगायत कारणले परिषद्कै सदस्यहरूले तोकिएकै समयमा प्रतियोगिता हुन्छ त भन्ने शंका गर्न थालेका छन् ।

फेरि पनि समयमै आयोजना हुनेमा आशंका उब्जिँदा तयारीमा रहेका खेलाडी भने चिन्तित छन् । सरकारले मिति तय गरेको मिडियामार्फत थाहा पाएका खेलाडीहरूलाई तयारीका लागि अधिकारिकरूपमा कसैले भनेका पनि छैनन । प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने केही खेलका खेलाडी नियमित व्यक्तिगत प्रशिक्षण गरिरहेका छन् भने धेरै खेलका खेलाडी त बेखबर छन् ।

तीन वर्षअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक जितेको थियो । प्रत्येक दुई-दुई वर्षमा गर्ने भनिए पनि राजनीतिक खिचातानी, खेलकुद नेतृत्वको विवाद अनि पूर्वाधार अभावजस्ता कारण देखाउँदै राष्ट्रिय खेलकुदजस्तो सबैभन्दा महत्वाकांक्षी र ठूलो महोत्सव निरन्तर धकेलिँदै आएको छ । 

राष्ट्रिय खेलकुद प्रतियोगिता समय मै नहुँदा लामो समयदेखि निरन्तर खेलमा लागेका खेलाडीहरूलाई भने मर्का पर्ने देखिन्छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।