नुवाकोट बुङताङका किसान सुन्तला बिक्री गरेर मनग्गे आम्दानी गर्दै

एक सिजनमा भित्र्याए करिब तीन करोड रुपैयाँ
मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नुवाकोट बुङताङका किसान सुन्तला बिक्री गरेर मनग्गे आम्दानी गर्दै

नुवाकोट । सुन्तला गाउँको परिचय बनाएको नुवाकोट बुङताङका किसानले यस वर्ष सुन्तला बिक्री गरी करिब तीन करोड रूपैयाँ भित्र्याउन सफल भएका छन् ।

५० जनाभन्दा बढी किसानको मेहनतले यो सिजनमा गाउँमा प्रतिघर २५ हजारदेखि ३० लाख रूपैयाँसम्मको सुन्तला बिक्री गरी झन्डै ३ करोड रूपैयाँको आम्दानी गर्न सफल भएका हुन् । यो गाउँमा कोदो, मकैलगायत परम्परागत बालीको सट्टा एक दशक अघिदेखि व्यावसायिक सुन्तला लगाउन थालिएको थियो ।

हाल नुवाकोटको म्यागङ गाउँपालिका दुई स्थित साविक बुङताङको कल्लेरी, कोलक्याप पोल्चेतलगायत स्थानमा व्यावसायिक सुन्तला खेती हुँदैआएको छ। २०७१ सालदेखि व्यावसायिक सुन्तला खेती थालिएको बुङताङको करिब थप १८ सय रोपनीमा ७२ हजार बोट सुन्तला हुर्कँदै छ । 

जसमध्ये दाना लाग्न सुरू गरेका नयाँ र बयस्क गरी यस वर्ष करिब ८ हजार सुन्तलाको बोटले उत्पादन दिँदा तीन करोड रूपैयाँको कारोबार भएको जिल्ला कृषि कार्यालय नुवाकोटले जनाएको छ । यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको क्षेत्रफल बर्षेनि फैलँदो छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.