नेपालमा पहिलोपटक 'कालीकण्ठ सारस' ले बच्चा कोरलेको अभिलेख, चराविद् उत्साहित

पर्यापर्यटनमा नयाँ आयाम
मंसिर २४, २०८२ |मनोज पौडेल
नेपालमा पहिलोपटक 'कालीकण्ठ सारस' ले बच्चा कोरलेको अभिलेख, चराविद् उत्साहित

कपिलवस्तु । मनमोहक र चित्ताकर्षक पन्छी कालीकण्ठ सारसले नेपालमा पहिलोपटक बच्चा कोरलेको छ। 

हुम्लाको नाम्खा गाउँपालिका लिमी उपत्यकामा पर्ने शाक्य खोला छेउ समथर ठाउँमा बचेरा हुर्काउँदै गरेको अवस्थामा कालीकण्ठ सारस भेटिएको हो । नेपालमा पाइने सारसका चार प्रजातिमध्ये अहिलेसम्म एक प्रजातिले मात्रै बच्चा कोरलेको भेटिएकोमा अब दुई प्रजातिका सारसको बच्चा कोरलेको अभिलेख राखिएको छ ।

हुम्लाको कठिन भौगोलमा कालीकण्ठे सारसको अध्ययन अनुसन्धान गर्न पुगेका पन्छी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशी र सिनियर रिसर्च अफिसर किरण गोसाईँले बच्चा कोरलेको अभिलेख गर्नुभएको हो । ४ हजार ५ सय मिटर उचाइमा टेन्ट टाँगेर चार दिन बसेको टोलीले दुई दिनसम्म माउसँग एउटा बच्चा देखिएको थियो । 

माउसँग बच्चा देखिएसँगै नेपालमा पहिलोपटक बच्चा कोरलेको अभिलेख हुँदा चराविद् उत्साहित बनेका छन् । पर्यापर्यटनमा नयाँ आयाम थपिएको छ । टोलीले निङ खोला र ध्याउखोला उपत्यकामा पनि टेन्ट टाँगेर कालीकण्ठ सारसको खोजबिन गरेको थियो । तीन ठाउँमा २२ दिन कालीकण्ठ सारस खोज्दा एक ठाउँमा मात्र बच्चासहित देखिएको थियो । 

हुम्लामा सन् २०१३ देखि कालीकण्ठ सारस देख्नथालेको भए पनि बच्चासहित पहिलोपटक देखिएको हो । ३०/३२ दिनसम्म ओथारो बसेर हुर्काई सय दिनमा बचेरा उडाउँछ । छोटो घाँटी र खुट्टा हुने कालीकण्ठ सारस सुन्दर र मनमोहक हुन्छ । पानी, धाप र खोला छेउमा गुँड बनाएर ओथारो बस्छ । दुई वटासम्म अन्डा दिने कालीकण्ठका भालेपोथी दुवै मिलेर बचेरा हुर्काउँछन् ।

संकटापन्न कालीकण्ठ सारस हिमालापारी बस्ने गर्छ । बच्चा कोरल्न अप्रिलतिर नेपाल आउने यो चरा अक्टोबरतिर फर्कन्छ । जाडोका बेला हिमाल पछ्याउँदै पश्चिमबाट पूर्वतिर लाग्छ । यसको ठूलो संख्या तिब्बतमा छ । त्यसपछि भारतको लद्दाख र भुटानमा पाइन्छ । जाडोमा बसाइँ सरेर भुटानको बुमथाङ भ्याली पुग्छ ।

कालीकण्ठ सारसले ३ हजार मिटर आसपास र त्यसभन्दा माथि उचाइको चिसो क्षेत्रमा प्रजनन् गर्छ । प्रजननका बेला ताल, साना धापिला भूमि प्रयोग गर्दछ । गहिरो आवाजमा कराउने हुनाले कालीकण्ठ चरा रहेको आभास परैबाट हुन्छ । यो चरा एउटै जीवनसाथीसँग आजीवन बस्छ । एक अर्काको अघि झुक्दै, पखेटा फैलाउँदै र उफ्रिउफ्रि नाचेको देख्दा हेर्नु चित्ताकर्षक हुन्छ । विश्वमा रहेका क्रेनका १५ प्रजातिमध्ये भारतमा ५ र नेपालमा ४ थरि पाइन्छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।