
काठमाडौं । टी-२० विश्वकपअन्तर्गत साेमबारको दोस्रो खेलमा ओमान जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ।
ओमानले दिएको एक सय ४ रनको लक्ष्य जिम्बाब्वेले १३ ओभर तीन बलमा नै पुरा गरेर सहज जित हात पारेको हो। पहिले ब्याटिङको निम्तो पाएको ओमान एक बल बाँकी रहँदा एक सय ३ रनमा अलआउट भएको थियो। ओमानका शीर्ष पाँच खेलाडी सस्तैमा आउट भए।
पाँच विकेट क्षतिमा उसको खातामा २७ रन मात्रै थियो। तर त्यसपछि सुफयन मेहमुदले २५, विनायक शुक्लाले २८ तथा नदिम खानले २० रनको योगदान गरे पनि ओमानले ठूलो स्कोर खडा गर्न सकेन। जिम्बाब्वेका सबै बलरले धारिलो बलिङ गरेका थिए। जहाँ रिचार्ड एनगारावा, ब्लेसिङ मुजाराबानी र ब्राड एभान्सले समान तीन-तीन विकेट आफ्नो नाममा गरेका थिए।
जवाफमा जिम्बाब्वेले ३९ बल बाँकी रहँदा दुई विकेट मात्रै गुमाएर एक सय ६ रन बनाउँदै लक्ष्य भेट्यो। ब्रियन बेनन्नेटले अविजित ४८ रनको योगदान गरे। अर्का ओपनर मरुमानीले २१ रन जोडे। उनीहरुले ३० रनको साझेदारी गरे। चौथो नम्बरका ब्रेन्डन टेलरले ३१ रन बनाएर रिटायर्ड हर्ट भए। ओमानका सुफ्यानले मात्रै २ विकेट लिन सफल भए।