
काठमाडौं । आयोजक धरान फुटबल क्लब २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ ।
सोमबार धरान रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा पोखराको लालीगुराँस फुटबल एसोसिएसन क्लबसँग टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित हुँदै आयोजक टिम बाहिरिएको हो । निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
समय अभावका कारण १५ मिनेट मात्रै थपिएको अतिरिक्त समयमा पनि कुनै टिमले गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । सुटआउटमा धरानका कप्तान दोर्जे तामाङको प्रहार लालीगुराँसका गोलकिपर कुम्ब देउवाले रोकेपछि लालीगुराँसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ द म्याच घोषित हुँदै देउवाले नगद १० हजार रुपैयाँ पुरस्कारसमेत पाए । धरानका नगेन राई, प्रज्वल थापा, विवेक राई र सविन राईको प्रहार गोलमा परिणत भयो । लालीगुराँसका राम थापा, अबुल युसुफ हाउले, टीकाराज गुरुङ, आशिष गुरुङ र सुदीप गुरुङ पाँचैजनाको प्रहार गोलमा परिणत भएपछि पहिलो सहभागितामै उसले सेमिफाइनल यात्रा तय गर्यो ।
मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा झापा ११ फुटबल क्लब र सातदोबाटो युथ क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।