झापा गोल्डकप : झापा-११ द्वारा टाइब्रेकरमा सिङलिङ स्पोर्टिङ क्लब पराजित

माघ २६, २०८२ |खेल ब्युरो
झापा गोल्डकप : झापा-११ द्वारा टाइब्रेकरमा सिङलिङ स्पोर्टिङ क्लब पराजित

झापा । सातौँ झापा गोल्डकपको साेमबारको खेलमा झापा-११ ले सिङलिङ स्पोर्टिङ क्लब सिक्किमलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ९० मिनटसम्म दुवै टिमले गोल गर्न नसकेपछि खेल सिधैं टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, गौरव धिमाल, राजेश दाहाल, र विवेक मगर गोल गरे ।

सिक्किमका सोनुहाङ सुब्बा, हेलमेट सुब्बा र सुरज तामाङले गोल गरे भने सुजन सुब्बाको प्रहार विपक्षी किपरले रोक्दा दिपेश क्षेत्रीको प्रहार आकासिएको थियो । साेमबारको प्लेयर अफ द म्याच झापाका गोलकिपर विवेक मगर भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे ।

मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन पोखराबीच हुनेछ ।