
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि मगाएका आवश्यक सामग्री कोलकाता बन्दरगाहबाटै आउन नसकेपछि निर्वाचनको काम नै प्रभावित हुने देखिएको छ ।
आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग निर्वाचनका लागि आवश्यक ८ प्रकारका सामान खरिद गर्ने सम्झौता गरेको थियो । तर, खाद्यले तोकिएको समयमा उपलब्ध गराउन नसक्दा निर्वाचनको काम प्रभावित हुने देखिएको छ ।
निर्वाचन आयोगले पुस १३ गते चुनावका लागि अत्यावश्यक सामग्री छेकबार, स्वस्तिक छाप र मसी, भोट हालिसकेपछि नङमा प्रयोग गरिने मसी, सेक्युरिटी सिललगायत स्टाम प्याड खरिद गर्ने सम्झौता खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग गरेको थियो ।
कम्पनीले माघ २५ भित्रै सबै सामान आयोगलाई बुझाउने सम्झौता गरेको थियो । तर खाद्यले चीन तथा भारतसँग खरिद गरिएका सामान समयमै आउन नसकेको भन्दै एकसाताभित्र बुझाइ बुझाइसक्ने गरी समय थपका लागि आग्रह गरिसकेको छ। आयोगले मगाइएका साामान राख्न परिसरको खुल्ला चौरमा टेन्ट बनाइसकेको छ ।
खाद्यका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले आयोगसँग सम्झौता गरिएका सामग्री एकसाताभित्र उपल्वध गराउने गरी आग्रह गरिएको बताउनुभयो । सामानहरू आउने क्रममा रहेकाले गर्दा पनि केही ढिलाइ भएको उहाँको भनाइ छ । धेरै सामान भारतको कोलकाता बन्दरगाहमा रहेको र काठमाडौँ आइपुग्न केही समय लाग्ने भएकाले एकसाताको समय मागिएको उहाँको भनाइ छ ।
केही सामान भने वीरगञ्जमा आइसकेको छ । चीनबाट खरिद गरेको १० कन्टेनर सामान समुद्र मार्गबाट आउने भएकाले समय लागेको खाद्यले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब १० वटा कन्टेनरका सामान आउन बाँकी रहेको जनाएको छ । ८ कन्टेनर काठमाडौका लागि र २ कन्टेनर जिल्लाका लागि भएको कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले भने खाद्यबाट सामन उपलब्ध गराएसँगै निर्वाचन क्षेत्रमा ढुवानी सुरू गर्ने जनाएको छ । आयोगले खाद्यले तोकिएको समयमा सामान उपल्वध गराउन नसक्दा कार्यतालिका नै प्रभावित हुनसक्ने भन्दै त्यसले निर्वाचनका कामलाई असजिलो बनाउने जनाएको छ ।
आयोगले फागुन ५ गतेदेखि मतपत्रसहित निर्वाचनका सामग्री निर्वाचनक्षेत्रमा ढुवानी गर्ने तयारी गरेको छ भने चुनाव हुन एकसाताअघि निर्वाचन अधिकृतसहितका कर्मचारी र सामानसमेत निर्वाचनक्षेत्रमा पुर्याउने तयारी गरेको छ ।