नेपाल क्रिकेट : हारपछि पनि विश्व क्रिकेटमा प्रतिस्पर्धाको नयाँ नाम

माघ २६, २०८२ |खेल ब्युरो
नेपाल क्रिकेट : हारपछि पनि विश्व क्रिकेटमा प्रतिस्पर्धाको नयाँ नाम

काठमाडौं । नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा निरन्तर साहस, क्षमता र आत्मविश्वासको परिचय दिँदै आएको छ । 

त्यसकै चरम उदाहरण बने आईसीसी टी-२० विश्वकप २०२४ र २०२६ का दुई ह्रिदयविदारक खेल । दक्षिण अफ्रिकाविरुद्ध एक रन र इंग्ल्यान्डविरुद्ध चार रनको पराजयले इतिहास रच्ने अवसर नेपालबाट खोस्यो, तर विश्व क्रिकेटको दृष्टिमा नेपाललाई सम्मानको अर्को तहमा पुर्‍याएको छ । नतिजा हार भए पनि यी दुई खेलले नेपाल अब सहभागीतामा सीमित हुने टोली नभएको सन्देश विश्वभर फैलिएको छ ।

दुई फरक विश्व कपमा नेपालले टेस्ट टोलीसँग बेहोरेको हारको अन्तर एक रन र चार रन सीमित रहेको छ । यी दुबै हारले नेपाली क्रिकेटलाई गहिरो पीडा र अदम्य गर्व एकैसाथ दिएको छ । आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका र २०२६ मा दुईपटकको च्याम्पियन इंग्ल्यान्डविरुद्ध नेपाल अन्तिम बलसम्म लडेर पराजित भयो । 

जित हातमै आइपुगेर पनि फुत्किँदा नेपाली समर्थकको मन भारी भयो, तर विश्व क्रिकेटमा नेपालको हैसियत बलियो बनेको प्रभाणित भयो । २०२४ को विश्वकपमा नेपालले स्पिन आक्रमणको उत्कृष्ट प्रयोग गर्दै बलियो टोली दक्षिण अफ्रिकालाई १ सय १५ रनमा सीमित गरेको थियो । 

कठिन पिचमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको स्पिनले अफ्रिकी ब्याटिङलाई बाँधेर राखेको थियो । लक्ष्य पछ्याउने क्रममा ३० बलमा २५ रन मात्र आवश्यक हुँदा खेल नेपालकै नियन्त्रणमा देखिन्थ्यो । तर तब्रेज शम्सीको १८औँ ओभरले खेलको दिशा फेरियो । सेट ब्याटर आसिफ शेखसहित दुई विकेट झर्दा दबाब नेपालतिर सरेको थियो । 

अन्तिम ओभरमा जित सम्भव देखिए पनि अन्तिम बलमा रनको प्रयास असफल हुँदा नेपाल एक रनले पछि पर्यो । त्यसको दुई वर्षपछि, २०२६ को टी-२० विश्वकपमा नेपालले अर्को विश्व च्याम्पियन इंग्ल्यान्डलाई पनि अन्तिम बलसम्म तानेर ल्यायो । १ सय ८५ रनको लक्ष्य पछ्याउँदै नेपालले साहसिक ब्याटिङ गर्‍यो । 

लोकश बमको विस्फोटक इनिङ्स, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलको जिम्मेवार खेलले वानखेडे रंगशालालाई रोमाञ्चित बनायो । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा पनि आशा जीवित थियो, तर अनुभवी साम करनले दबाबमा सन्तुलित बलिङ गर्दै इंग्ल्यान्डलाई चार रनको जित दिलाए ।

यी दुवै खेलमा नेपालले क्रिकेट कौशल मात्र होइन, मानसिक दृढता पनि प्रदर्शन गर्‍यो । त्यसैले हारपछि पनि विश्वभरका क्रिकेट हस्तीहरूले नेपालको खुलेर प्रशंसा गरे । डेल स्टेनले नेपाली क्रिकेटको सेवा गर्न तयार रहेको बताए । रविचन्द्रन अश्विनले नेपाललाई उदाउँदै गरेको शक्तिका रूपमा चित्रित गरे भने युवराज सिंह र माइकल भानले नेपाली टोलीको आत्मविश्वास र प्रतिस्पर्धी भावना प्रशंसनीय रहेको बताए । 

अन्य थुप्रै विश्लेशक र क्रिकेटरले नेपालको प्रसंसा गरे । आईपीएलका सबै टोलीले सामाजिक सञ्जालमार्फत नेपालको प्रसंसा गरे । यी हारहरू नेपाली समर्थकका लागि पीडादायक भए पनि निराशाजनक थिएनन् । बरु, यसले नेपाल ठूलो टोलीलाई हराउन सक्षम छ भन्ने संकेत दिएको छ । 

यदि यी दुवै खेल जितिएको भए नेपालले आईसीसी पूर्ण सदस्यताको दिशामा अझ मजबुत दाबी प्रस्तुत गर्न सक्थ्यो । तर हारपछि पनि एउटा सत्य स्पष्ट भएको छ, नेपाल अब विश्व क्रिकेटको प्रतिस्पर्धाको केन्द्रतर्फ उन्मुख टोली बनेको छ । आँशु, गर्व र आशाले भरिएको यो यात्राले नेपाली क्रिकेटको भविष्य उज्यालो देखाएको छ । 'कार्डियाक किड्स' को उपनाम पाएको नेपाली क्रिकेट टोली ऐतिहासिक उलटफेरको नजिक पुगेको छ ।