सेवा निवृत्त प्रधानाध्यापकको हेलिकप्टरमा बिदाइ

मंसिर २४, २०८२ |भीमलाल श्रेष्ठ
सेवा निवृत्त प्रधानाध्यापकको हेलिकप्टरमा बिदाइ

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं २ रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयका सेवा निवृत्त भएका प्रधानाध्यापक ५७ वर्षीय इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, अभिभावक र स्थानीयले हेलिकप्टर चढाएर बिदाइ गरेका छन् ।

विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गरेर प्रधानाध्यापक उपरकोटी लाई हेलिकप्टरमा उडाएर बिदाइ गरेको हो । २०४५ सालमा विद्यालय स्थापना देखि अहिले ३६ वर्ष ८ महिना २२ दिन वहाँले प्रधानाध्यापक रहनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो । 

१९ वर्षको उमेरदेखि ५७ वर्षसम्म सोही विद्यालयमा गणित र अंग्रेजी पढाएर निवृत्त हुनुभएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीको सम्मानस्वरुप पूर्व विद्यार्थीहरुले रकम उठाएर २ लाख ५ हजारमा हेलिकप्टर भाडामा लिएर बिदाइ गरेका हुन् । 

वडाध्यक्ष सरोज गुरुङका अनुसार पुर्खौली घर गोरखा भएपनि पछिल्लो समय चितवनको भरतपुर बसोबास रहेको उहाँलाई विद्यालयबाट हेलिकप्टरमार्फत काठमाडौंसम्म र काठमाण्डौंबाट विमानमा घर पठाइएको हो ।      


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।