
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले फरक फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताउनुभयो । नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले बितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले १० वर्षे जनयुद्ध, भूकम्प, कोरोनालगायतका प्रतिकूल समयमा पनि देशमा विकास भएको दाबी गर्नुभयो ।
उहाँले संसदीय प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताउँदै जेन-जी विद्रोहलाई निष्कर्षमा पुर्याउन कांग्रेस प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।