
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले नागरिकता र सुशासनको विषयमा संविधान संशोधन गर्न सरकारलाई दुईतिहाइ बहुमत जुटाउन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारा संविधान संशोधनमार्फत स्थापित गर्नुपर्ने भन्दै त्यसका लागि दुईतिहाइ जुटाउन आफूहरूको साथ रहने उहाँले बताउनुभएको हो ।
उहाँले मुलुकमा सुशासन कायम गर्न तथा सामाजिक न्याय र रूपान्तरणका विषयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको पनि बताउनुभयो । साथै देशका किसान रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्था अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्न समेत सबै दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई कायम राखियोस् । संविधान संशोधन गरेर फेरि कायम गरियोस् । यदि यो सरकारलाई त्यसका लागि दुईतिहाइको आवश्यकता पर्छ त्यतिबेला हामी तपाईँको पछाडि उभिनेछौँ । ढुक्कका साथ काम गर्नुहोस् ।”
उहाँले सुशासन स्थापना र प्रजातान्त्रिक विधिको सुदृढीकरणका लागि सबै दलहरू एकढिक्का हुनुपर्ने आवश्यकता औंल्याउँदै देशलाई प्राथमिकतामा राखेर सहकार्य गर्न समेत आह्वान गर्नुभयो ।