एमसीसी खारेज गर्न हर्क साम्पाङको माग

चैत्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमसीसी खारेज गर्न हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । 

देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्नुपर्ने उहाँको तर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनुभयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहन्छु ।” 

उहाँले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्ने र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ पनि माग गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.