एजेन्टको आन्दोलनका कारण देशैभरका भन्सार जाँचपास ठप्प, सरकारसँगको वार्ता टुंगोमा पुगेन

दैनिक ५० करोडभन्दा बढीको राजस्व संकलन प्रभावित
मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एजेन्टको आन्दोलनका कारण देशैभरका भन्सार जाँचपास ठप्प, सरकारसँगको वार्ता टुंगोमा पुगेन

काठमाडौं । भन्सार ऐनविरूद्ध भन्सार एजेन्टको आन्दोलनका कारण मंगलबार देशैभरका भन्सार जाँचपास ठप्प भएका छन् ।

आन्दोलनका कारण बाँकेको नेपालगञ्ज भन्सार कार्यालयमा दिनभर भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भए। भन्सार एजेन्ट महासंघ नेपालको पेन-डाउन कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै नेपालगञ्ज भन्सार एजेन्ट संघले कार्यालयमा सेवा अवरूद्ध गरेको हो । 

गत मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानहरूले एजेन्टहरूको पेसागत अधिकारमाथि प्रत्यक्ष असर परेको महासंघको आरोप छ । विशेषगरी इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, दण्ड-जरिवाना लगायतका प्रावधानहरू अत्यधिक कठोर भएको र पेसालाई नै हतोत्साहित गर्ने प्रकृतिका भएको आरोप लगाइएको छ।

उता विराटनगर भन्सार कार्यालय पनि आन्दोलनका कारण ठप्प रह्यो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासंघ नेपालको आव्हानमा विराटनगर भन्सार कार्यालयमा काम बन्द गरिएको जानकारी दिनुभयो ।पेन-डाउनको असर वीरगन्ज भन्सारमा पनि परेको छ । 

ऐनका केही प्रावधान भन्सार एजेन्टको पेसागत हकहित विपरित भएको र त्यसले अन्तराष्ट्रिय व्यापार सहजीकरणमा समेत समस्या पारेको भन्दै भन्सार एजेन्ट महासंघ विरोधमा उत्रिएको हो । यसैबीच, संघले राखेका मागका विषयमा भन्सार विभागमा मंगलबार दिनभर वार्ता भए पनि टुंगोमा पुग्न सकेन । 

पेन-डाउनका कार्यक्रम निरन्तर रहेको महासंघले जनाएको छ । आन्दोलनका कार्यक्रमका कारण दैनिक ५० करोडभन्दा बढीको राजस्व नोक्सानी भएको पूर्वसचिव कृष्णहरि बास्कोटाले जनाउनुभएको छ । यस्तै, भन्सार अवरोधका कारण चौरी पैठारी बढ्ने भन्दै उहाँले तत्काल समस्या समाधान गर्न पनि आग्रह गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.