सगरमाथामा गाइड बेपत्ता घटना : पर्यटन विभागले छानबिन गर्ने

जेष्ठ २१, २०८३ |कान्तिपुर टीभी संवाददाता
सगरमाथामा गाइड बेपत्ता घटना : पर्यटन विभागले छानबिन गर्ने

काठमाडौं । सगरमाथा आरोहणका क्रममा ६ हराएका गाइड दावा शेर्पा भेटिएपछि पर्यटन विभागले घटनाको छानबिन गर्ने भएको छ ।

विभागले हिमालयन ट्राभल्स एडभेन्चर प्रालिका सन्चालक दावा शेर्पा र आधार शिविरमा रहेका उहाँका छोरा आङ फुर्वा शेर्पालाई सोधपुछका लागि बोलाउने भएको हो । यसैगरी आरोहण अनुमति लिएको एटके एक्सपिडिसनका सञ्चालकलाई पनि बोलाउने जानकारी विभागले दिएको छ । सगरमाथामा ६ दिनअघि बेपत्ता भएका हुनुभएका दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला पर्नुभएको हो । एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उहाँ हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिनुभएको हो । उहाँका अनुसार शेर्पाका हातका औंलामा हिउँका कारण क्षति पुगेको छ र उहाँलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बुधबार काठमाडौंस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो । क्याप्टेन विवेक खड्काका अनुसार हेलिकोप्टरले ५,२०० मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेको थियो । उक्त उद्धार अभियानमा दुई जना सहयोगी पनि संलग्न थिए ।

दावा शेर्पा एक अमेरिकी र एक पोलिस नागरिकसहित ५ सदस्यीय आरोहण दलमा सहभागी हुनुहुन्थ्यो । फर्किने क्रममा जेठ १५ गते शुक्रबार तेस्रो शिविर क्षेत्र आसपासबाट उहाँ सम्पर्कविहीन हुनुभएको थियो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यो घटनाको विस्तृत छानबिन हुने र कानुनअनुसार कडाइका साथ कारबाही हुने जानकारी कान्तिपुरलाई दिनुभयो । लापरवाही देखिए संलग्न कम्पनीलाई कालोसूचीमा राख्ने उहाँको भनाइ छ ।

तस्बिर - ६ दिनपछि भेटिएका दावा शेर्पाको उद्दार गरिँदै । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.