
काठमाडौं । निर्वाचनलक्षित सुरक्षाका विषयमा लगातार प्रश्न उठेपछि सरकारले दलहरू र सुरक्षा निकायका प्रमुखहरूलाई एकै ठाउँमा राखेर छलफल गर्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मुख्य राजनीतिक दल, जेन-जी, निर्वाचन आयोगका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूलाई निर्वाचनको तयारीबारे छलफलका लागि डाक्नुभएको हो। निर्वाचनको तयारीबारे प्रश्न उठाइरहेको नेकपा एमालेसहितका दललाई बैठकका लागि बोलाइएको छ।
शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने बैठकमा निर्वाचनको तयारीमा सरकारले गरेका कामको प्रगति र दलहरूको भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटारमा बस्ने बैठकमा एमालेबाहेक नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् ।
मुख्यगरी एमाले र कांग्रेसलगायतले आगामी फागुन २१ गते हुने निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकारसँग प्रश्न उठाउँदै आएका छन् भने सरकारले भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुने भन्दै सुरक्षाको विषयमा आश्वस्त पार्ने प्रयास गर्दै आएको छ।
नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई लगाइएको स्थान हद र ओलीसहितका नेताहरूको सुरक्षामा चुनौती रहेको तथा जनतामा पुगेर सभा समारोह गर्ने वातावरण नभएको भन्दै निर्वाचनको वातावरणमाथि प्रश्न गर्दै आएको छ। साथै, अन्य दलले कारागारबाट भागेका कैदीबन्दीहरू अझै बाहिरै रहेको र लुटिएका हतियार फिर्ता हुन नसकेको भन्दै सुरक्षा चुनौती कायमै रहेको बताउँदै आएका छन्।