
कास्की । पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नारासहित रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले लेकसाइडमा आगामी पुष १३ देखि १७ गतेसम्म २७ औँ संस्करणको सडक महोत्सव आयोजना गर्न लागेको हो ।
लेकसाइडको फिस्टेल गेट देखि चौतरा सम्मको करिब तीन किलोमिटर सडकमा हुने महोत्सवका लागि मूल आयोजक समिति बनाएर तयारी सुरु भइसकेको पोखरामा आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
यस वर्षको महोत्सवमा लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट, खेलकुद अन्तर्गत डुंगा दौड, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता लगायत सचेतनामूलक सडक नाटक र सेल्फी फोटो समावेश हुने रेवानका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।
महोत्सव अवधिभर पर्यटन प्रवर्द्धन, अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम, स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि उत्पादन र वनस्पती प्रदर्शनी, साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तव्य प्रवर्द्धन सम्बन्धी कार्यक्रम पनि आयोजना हुने बताइएको छ ।
महोत्सवको मुख्य उद्देश्य कला–संस्कृति प्रवद्र्धन गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, पोखरा र लेकसाइडको प्रचार प्रसार गर्नु, व्यापार बढाउनु र शहरको ब्राण्डिङ रहेको छ ।