१४ बर्षपछि प्रहरीचौकी गोठिज्युलाको आफ्नै भवन

मंसिर १८, २०८२ |डीबी बुढा
१४ बर्षपछि प्रहरीचौकी गोठिज्युलाको आफ्नै भवन

जुम्ला । स्थापना भएको १४ बर्षपछि प्रहरीचौकी गोठिज्युलाको आफ्नै भवन बनेको छ । स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गरेपछि प्रहरीको आन्तरिक स्रोतबाट सुविधा सम्पन्न प्रहरीचौकीको भवन बनेको हो ।

प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले रिबन काटेर भवनको उद्घाटन गर्नुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले निर्धक्क भएर जनताको जीउधनको सुरक्षामा लाग्न निर्देशन पनि दिनु भयो । प्रहरीचौकी गोठिज्युला २०६८ सालमा स्थापना भएको थियो । १४ बर्षसम्म यो प्रहरीचौकी भाडाको घरमा थियो ।

कुल ४ करोड १० लाख ३६ हजार रुपैयाँको लागतमा प्रहरीचौकीको भवन निर्माण भएको हो । हिरासत सहितको तीन तले पक्की भवन बनेको हो । साउन महिनादेखि प्रहरी सरेर नयाँ भवनबाट सेवा दिइरहेको थियो ।

जुम्लामा १३ वटा स्थायी प्रहरीचौकी छन् । जसमध्ये प्रहरीचौकी गोठिज्युला, रारालिही र कुडारीमा आफ्नै भवनबाट सेवा दिइरहेको छ । बाँकी १० वटा प्रहरीचौकी भाडाको घरमा छन् । यो पटक इलाका प्रहरीचौकी नराकोट र जिल्ला प्रहरी कार्यालयमा भवन निर्माणको काम हुने डिएसपी रविन्द्र रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अस्थायी प्रहरी पोष्ट ६ वटा छन् । प्रहरी विट १ वटा जुम्ला विमानस्थल,कारागार,अस्पताल,सिडियो कार्यालय र अदालत गरेर जिल्लाभर २९ वटा प्रहरी युनिट छन् । अहिलेसम्म बनेका मध्ये सबैभन्दा सुविधा सम्पन्न र गुणस्तरीय भवन प्रहरीचौकी गोठिज्युलाको बनेको डिएसपी रेग्मीले बताउनुभयो । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।