
बाजुरा । बाजुराकाे सदरमुकाम मार्तडीमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ ।
आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका-८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टाेरमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । मंगलबार दिउँसो सवा १२ बजेर डिपार्टमेन्टल स्टाेरमा काठको काम भइरहेको बेला तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
बडीमालिका नगरपालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार क्षति संकलन गर्ने काम भइरहेको छ ।