पाल्पाका गाउँघरमा न्वागी पर्वको चटारो, खाँडदेवी र रैनादेवीलाई नयाँबाली नचढाइ नखाने प्रचलन

मंसिर १२, २०८२ |माधव अर्याल
पाल्पाका गाउँघरमा न्वागी पर्वको चटारो, खाँडदेवी र रैनादेवीलाई नयाँबाली नचढाइ नखाने प्रचलन

पाल्पा । वर्षभरि खाने धान घरमा भित्र्याएपछि देवी देवतालाई नचढाई खान नपाइने प्रचलन आदिवासी जनजाती समुदायमा छ । 

आफुले मानिआएको देविदेवतालाई चढाएर खाने प्रचलनलाई न्वागी खाने भनेर भन्ने गरिन्छ । सबै गाउँमा न्वागी खाने प्रचलन भए पनि पाल्पाको तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका स्थानहरूमा पृथक रूपमा न्वागी मनाइन्छ । मंसिर महिनाको पहिलो बिजोड गते साइत हेरेर मात्र न्वागी खाने प्रचलन छ । 

गाउँमा रहेका देवीका मन्दिरमा लगेर चढाएपछि मात्र घरको भान्सामा चुल्हो बाल्ने र खाना पकाउने गरिन्छ । पाल्पाको दोभान झ्याङ्लामा १ सय ३२ वर्षदेखिको यस्तो प्रचलन रहेको छ । खास गरी मगरी समुदायले यस्तो चलन चलाएका हुन् । नयाँ धानको चामल नचढाइकन खाँदा गाउँमा महामारी फैलिएको र देवीलाई चढाउने प्रचलन सुरू भएको जनविश्वास अहिले पनि छ ।

पाल्पाको प्रायः सबै बस्तीमा न्वागी खाने प्रचलन रहे पनि पश्चिम भेगमा भने दसै, तिहार पछिको कान्छो पर्वका रूपमासमेत मनाउने गरिन्छ । हरेक घरबाट नियमित मात्र होइन, बिहे गरेको, छोरा पाएको, घर बनाएको भागसमेत कुखुरा, बोका चढाउने र आफन्त बोलाएर खानपिन गर्ने गरिन्छ । दिनभर खानपिन गरेपछि रातभर मन्दिरको वरपर नाचगान गर्ने प्रचलन छ ।

मौलिक परम्परा र सांस्कृतिक पर्वका रूपमा लिइने न्वागी पर्व अन्यत्र हराउँदै गएपनि पाल्पाका रैनादेवी र तिनाउको विभिन्न स्थानमा जीवितै छ । नयाँ धानको चामल, दही, केरा, सिलाम मिलाएर रैनादेवी र खाँडदेवीका मन्दिरमा चढाउने र त्यसलाई टीका, प्रसादका रूपमा ग्रहण गर्नु न्वागी खानु हो । संस्कृति हराउँदै गएपछि पछिल्ला वर्षमा विशेष सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।