बारामा सञ्चालित नेपाल नीर पानीमा कार्यरत व्यवस्थापकको हत्या

मंसिर १२, २०८२ |रमेश ठाकुर
बारामा सञ्चालित नेपाल नीर पानीमा कार्यरत व्यवस्थापकको हत्या

बारा । जिल्लाको पर्सौनी गाउँपालिका-६ भलुहीमा सञ्चालित नेपाल नीर पानीमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरिएको छ ।

किरण वेभरेज नेपाल प्रालिद्वारा सञ्चालित पानी उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत सर्लाहीको धनकौलका ४२ वर्षीय रामनरेश सिंह मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार सिंहको शव वीरगञ्ज-कलैया सडक-खण्डअन्तर्गत पर्ने भलुही चोक नजिकैको खोल्सामा फेला परेको हो । 

शुक्रबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा शवको प्रकृति हेर्दा बिहीबार राति नै सिंहको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । हत्या अत्यन्तै क्रूर तरिकाले गरिएको प्रहरीले जनाएको छ ।

मृतक सिंहको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया लगिएको डिएसपी पण्डितले जानकारी दिनुभएको छ । यस घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ भने उद्योग क्षेत्रमा पनि त्रासको वातावरण सिर्जना भएको छ । प्रहरीले हत्या पछाडिको कारण र संलग्न अपराधीको खोजीका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।