समर्थन मूल्य नतोकेको भन्दै नेपाल उखु उत्पादक महासङ्घ आन्दोलनमा उत्रिने

मंसिर १०, २०८२ |नवीन पौडेल
समर्थन मूल्य नतोकेको भन्दै नेपाल उखु उत्पादक महासङ्घ आन्दोलनमा उत्रिने

नवलपरासी । सरकारले उखुको बाँकी अनुदान भुक्तानी नगरेको र समयमा नै समर्थन मूल्य नतोकेको भन्दै नेपाल उखु उत्पादक महासङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिएकाे छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच पटक-पटक भएको वार्तामा सहमति जुट्न नसकेपछि महासङ्घ आन्दोलित भएको हो । किसानले मंसिर १३ गतेभित्र उखुको न्यूनतम् समर्थन मूल्य तोक्न र आर्थिक वर्ष २०८१/८२ को बाँकी अनुदान रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ । 

आफ्ना माग समयमै पूरा नभएमा मंसिर १४ गते सर्लाहीको हरिवनमा १ घन्टा राजमार्ग बन्द गर्ने र १५ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने उखु उत्पादक महासंघका प्रवक्ता उमेश चन्द्र यादवले बताउनुभयो । चिनी उद्योग सञ्चालन हुनुभन्दा अगाडि नै मूल्य तोक्नुपर्नेमा सरकारको ढिलासुस्तीले किसानले पुरानो मूल्य र उधारोमा उखु बिक्री गर्नुपरेको छ । 

चालु आर्थिक वर्षमा प्रति क्विन्टल ७ सय ५० रूपैयाँ मूल्य तोक्नुपर्ने किसानको माग छ। यसअघि सरकारले आर्थिक वर्ष २०८१/८२ मा प्रति क्विन्टल ७० रूपैयाँ अनुदान दिने भने पनि स्रोतको अभाव भन्दै ३५ रूपैयाँ मात्र अनुदान रकम भुक्तानी गरेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।