
काठमाडौं । हङकङको ताइ पो जिल्लास्थित बहुतले भवनमा भिषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
दुई हजार अपार्टमेन्ट रहेका आठवटा हाउजिङ कम्प्लेक्समा बुधबार दिउँसो आगलागी सुरू भएको हो । सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा कम्तिमा पाँचवटा भवनमा आगलागी भएका दृश्य देखिएका थिए । भवनको बाहिरी भागमा राखिएका जाली र बाँसका टेकोका आगो फैलिएको हो ।
हङकङ सरकारले चार जनाको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमध्ये एक जना अग्निनियन्त्रक रहेको हङकङको अग्निनियन्त्रण विभागले जनाएको छ । सरकारले नजिकैका भवन खाली गराएको थियो भने प्रभावितहरूलाई राख्न अस्थायी शिविरको व्यवस्था गरेको छ । सन् १९८३ मा निर्माण भएको उक्त हाउजिङमा ४६ सय मानिस बसोबास गर्दै आएको जनाइएको छ ।