विवाहपञ्चमीको अवसरमा जनकपुरमा नेपाली सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

मंसिर ८, २०८२ |अनिल मिश्र
विवाहपञ्चमीको अवसरमा जनकपुरमा नेपाली सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

जनकपुर । जनकपुरधामको पहिचान र धार्मिक सांस्कृतिक उत्सव सीताराम विवाहपञ्चमीको अवसरमा नेपाली सेनाले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मधेश प्रदेशको बर्दिबासमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतना र सोअन्तर्गतका युनिटहरूको संयोजनमा साेमबारदेखि बुधबारसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको हो । दर्शनार्थी र स्थानीयलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभुमी मैदानमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न खाले स्वास्थ्य उपचारका साथै नि:शुल्क आँखाको मोतीया बिन्दुको शल्यक्रियाको पनि व्यवस्था गरिएको छ । 

नेपाली सेनाको चिकित्सक र स्वास्थ्यकर्मीका साथै स्थानीय सरकारी र निजी अस्पतालहरूको पनि सहभागिता रहेको छ । नागरिक सैनिक बीचको सम्बन्ध थप सुधार हुने अपेक्षासहित सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा सामाजिक उत्तरदायित्व, जनतेतनामुलक र सेनासँगसम्बन्धी जानकारीमुलक गतिविधिबारे पनि स्टलहरू राखिएको छ ।

मिथिलाको पौराणिक, धार्मिक र सांस्कृतिक विरासत साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण स्वयमवरका दिन भोलि मंगलबार सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै सैनिक ब्यान्डको विशेष प्रस्तुति हुने योजना छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।