
काभ्रे । आगामी फागुनमा निर्धारित निर्वाचन मिति नजिकिँदै जाँदा काभ्रेपलाञ्चोकमा सुरक्षात्मक पूर्वतयारी थप सुदृढ बन्दै गएको छ।
यसैक्रममा पनौती नगरपालिका-५ अन्तर्गत रहेको श्री स्वत गणेश माध्यमिक विद्यालयस्थित मतदान केन्द्र तथा मतदान स्थलको साेमबार सेना र नेपाल प्रहरीको संयुक्त टोलीले अवलोकन गरेको हो। जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आधिकारिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेकाले निर्वाचन सुरक्षालाई लक्षित गरी सेना सक्रिय रूपमा मैदानमा देखिन थालेको छ।
धुलिखेलस्थित श्री मेयर गणका कर्णेल झलक सुवेदीले अवलोकनको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयाे, “यो दैनिक जाने प्रक्रिया होइन, तर निर्वाचनको पूर्वतयारी स्वरूप मतदान केन्द्रको वास्तविक स्थिति बुझेर शान्ति-सुरक्षा प्रत्याभूति दिन सेना स्थलगत अवलोकन गर्दै आएको हो।”
उहाँका अनुसार आगामी फागुनमा हुने निर्वाचनभन्दा अगावै काभ्रे जिल्लाका सबै मतदान केन्द्र तथा मतदान स्थलहरूमा सेनाले प्रारम्भिक निरीक्षण कार्य पूरा गर्ने लक्ष्य राखेको छ। अवलोकन प्रक्रियामा नेपाल प्रहरीका प्रतिनिधिहरू पनि समावेश गर्दै संयुक्त सुरक्षा संरचना बलियो बनाइने बताइएको छ।