कर्मचारी नियुक्तिबारे प्रधानमन्त्रीको सचिवालयद्वारा स्पष्टीकरण, नियुक्तिमा पारदर्शीता अपनाइएको दाबी

मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्मचारी नियुक्तिबारे प्रधानमन्त्रीको सचिवालयद्वारा स्पष्टीकरण, नियुक्तिमा पारदर्शीता अपनाइएको दाबी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले कर्मचारी नियुक्तिमा मितव्ययिता र पारदर्शीता अपनाइएको दाबी गरेको छ । 

प्रमुख स्वकीय सचिवसहितको नियुक्तिबारे विवाद उत्पन्न भएपछि प्रधानमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको हो । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति भएको बताएको उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले आफूले भरोसा गर्ने व्यक्ति श्रेष्ठलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको दाबी गर्दै विज्ञप्तिमा जेन-जी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शीता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरूपको आचरण र व्यवहार गर्दै आएको पनि दाबी गरिएको छ ।

प्रधानमन्त्रीले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान मात्र रहनुभएको र उहाँहरूको वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीले छनोट गरी नियुक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको र आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै विरोध सुरू भएको छ ।

तर प्रधानमन्त्रीका प्रेस संयोजक रावलले जारी गरेको विज्ञप्तिमा 'अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातिय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनि प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ,' भनिएको छ ।

'कार्यविधिअनुसार सात जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल दुई जना मात्र नियुक्त हुनुभएको छ । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि चार जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ,' विज्ञप्तिमा भनिएको छ ।

याे पनि :

प्रधानमन्त्रीका स्वकीय सचिवद्वारा श्रीमतीलाई नियुक्ति, चौतर्फी विरोध


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.