नेकपा एमालेले किन खडा गर्यो नेसनल भोलिन्टियर्स फोर्स ?

मंसिर ५, २०८२ |रुपेश श्रेष्ठ
नेकपा एमालेले किन खडा गर्यो नेसनल भोलिन्टियर्स फोर्स ?

काठमाडौं । सबभन्दा पहिला हेरौं नेसनल भोलिन्टियर्स फोर्स नाम दिइएको एमालेको कान्छो संगठनको केन्द्रीय कमान्डरको जिम्मेवारी पाएका पुष्पराज श्रेष्ठको यो भनाइ :

‘हाम्रो घरको लोकेसन जसरी ट्रयाक गर्नुभएको छ हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौँ हामी पनि तपाईंहरूको घर घर छिर्नेछौँ ।’

नेकपा एमालेले आज आयोजना गरेको नयाँ संगठनको केन्द्रीय कमाण्ड घोषणा कार्यक्रममा केन्द्रीय कमान्डर घोषित श्रेष्ठको यो भनाइले एमालेले यो संगठन बनाउनुको खास कारण खोल्छ। यो संगठनलाई एमालेले पार्टीको सुरक्षा दस्ता भनेको छ। अध्यक्ष केपी ओलीसहितका नेताहरूले यसलाई प्रतिरोधी संगठनको रूपमा व्याख्या गरेका छन्, जोश जाँगर भएका युवाहरू यसका सदस्य हुने बताएका छन्।

संगठनको घोषणा यसअघि अध्यक्ष ओलीले हाल शरण लिइरहेको भक्तपुरको गुण्डुबाट गरिएको थियो। एमालेका समर्थक युवा र विद्यार्थी सम्मिलित अन्य संगठनसहित जनवर्गीय संगठनहरू पनि छन्। यसअघि माओवादीको भ्रातृ संगठन वाइसिएलसँग जुध्नका लागि गठित युथ फोर्स पनि सक्रिय नै छ। यति धेरै संगठन चलाइरहेको एमालेले फेरि अर्को संगठन किन खोल्यो ? त्यो पनि सुरक्षा दस्ताको नाममा संगठन खोल्नुपर्ने स्थिति किन आयो ?

अलिकति पृष्ठभूमि हेरौं -

एमालेका अध्यक्ष अहिले भक्तपुरको गुण्डुमा शरण लिएर बस्नुभएको छ। बालकोटस्थित घर भदौ २४ गते जलाइएपछि ओलीका लागि पार्टीका कार्यकर्ताले गुण्डुमा घर खोजेर बस्ने व्यवस्था गरिदिएका हुन्। त्यसको नेतृत्व गर्ने नेता हुन् एमालेकै स्थानीय नेता महेश बस्नेत। यसअघि युथ फोर्सको नेतृत्वमा रहँदा बस्नेतको खुबै चर्चा हुने गरेको थियो, त्यसका कारणहरू मैले भनिरहनुपरेन। उनै बस्नेतले अध्यक्ष ओलीलाई गुण्डुमा सुरक्षित राख्ने जिम्मेवारी पाउनुभएको छ। 

सुरक्षाका लागि भन्दै अहिले गुण्डुमा ओलीको अस्थायी निवास भित्र र बाहिर गरी ५०औं कार्यकर्ता खटिएका छन्। भक्तपुरको अरनिको राजमार्गबाट दक्षिणतर्फ करिब ४ किलोमिटरको दुरीमा रहेको गुण्डु पुग्दै गर्दा देखिन्छ, ठाउँ-ठाउँमा एमालेका युवा कार्यकर्ता चनाखो भएर बसेका हुन्छन्। यसको अर्थ हो, अध्यक्ष केपी ओलीलाई असुरक्षा छ भन्ने एमालेलाई लागेको छ। हुन पनि जेन-जीको नाउँमा अनेक समूहले बेलाबेलामा गुण्डु पुगेर एमाले अध्यक्ष ओली र नेता महेश बस्नेतलाई आक्रमण गर्ने प्रचार गरिरहँदा यसरी असुरक्षाको महसुस भएको हुन सक्छ ।

अध्यक्ष ओलीले मसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, मलाई सबैभन्दा ठूलो खतरा नै सरकारबाट छ। भोलिन्टियर्स फोर्सका कमान्डर पुष्पराजले राजनेता र राष्ट्रपिता मानेका ओलीलाई लागेपछि सक्कियो। उहाँलाई सरकारी सुरक्षा संयन्त्रमा विश्वासै छैन। सरकारले आफ्ना लागि दिइरहेको अनाधिकृत सुरक्षा सुविधा फिर्ता लिएपछि झन् विश्वास हुने कुरै भएन। यो त्यहि सुरक्षा संयन्त्र हो जसले भदौ २४ गते बिहानै गरेको ब्रिफिङलाई ओलीले बेवास्ता गर्नुभयो। फेरि पनि यो त्यहि सुरक्षा संयन्त्र हो, जसले अन्तत: स्वयं केपी ओली र अन्य दलका प्रमुख नेताहरूलाई रेस्क्यु गर्‍यो। भलै त्यसको नेतृत्व नेपाली सेनाले गरेको थियो। विश्वास भन्ने कुरा बहुत अप्ठेरो कुरा हो।

विश्वास यति घाती छ कि !

नाथे एउटा ढुङ्गाले पनि

यसरी मान्छेको शोषण गर्छ।

कवि उपेन्द्र सुब्बाले आफ्नो 'विश्वास' नामको कवितामा यसबारे मज्जैले लेख्नुभएको छ !

अब मूल विषयमा जाउँ ।

एमालेले स्वयंसेवी संगठन त भनेको छ, तर सँगै यो संगठनलाई सुरक्षा दस्ता पनि भनेको छ। अध्यक्ष ओलीले विपदमा उद्धारको काममा, संकट र दुर्घटनाहरूमा सहयोग गर्न निर्देशन दिँदै यो संगठनलाई समाजसेवी र स्वयंसेवी देखाउन खोज्नुभएको।

तर सँगै उहाँले यो त्यस्तो समाजसेवी वा स्वयंसेवी संगठनभन्दा फरक प्रकारको भएको आफ्नै मन्तव्यमा स्पष्ट पार्नुभयो। अध्यक्ष ओलीले संगठनलाई निर्देशनात्मक सम्बोधन गर्दै भन्नुभयो - राज्यको संयन्त्रले मात्र शान्ति सुव्यवस्था कायम गर्न सक्दैन, सरकारी र व्यक्तिका सम्पत्तिको रक्षा गर्न सरकारी सुरक्षा संयन्त्रले गर्न सक्दैन ।

पटकपटक प्रधानमन्त्री भएको, सुरक्षा प्रशासनकै नेतृत्व गर्ने गृहमन्त्रीसमेत भइसकेको नेताबाट यस्तो सुनिनु अनौठो कुरा हो। शान्ति सुव्यवस्था कायम गर्नका लागि यो दस्ता तयार गरिएको भन्दै ओलीले दुई महिनाअघिमात्रै आफैंले नेतृत्व गरेको राज्य संयन्त्रको खिल्ली उडाउनुभएको छ। 

सरकारले शान्ति सुव्यवस्था कायम गर्न सकेन र सक्दैन भन्दै चुनावको सम्भावना नभएको दाबी अध्यक्ष ओली गर्नुहुन्छ। तर चुनावका लागि अत्यावश्यक शान्ति सुव्यवस्था बनाउन एमालेले के गर्‍यो ? भड्काउपूर्ण अभिव्यक्तिको श्रृंखला, मुठभेडप्रेरित गतिविधि र कतिपय स्थानमा मुठभेडको सुरूवातसमेत एमाले गर्दैछ। यस्तो प्रवृत्तिले न शान्ति सुव्यवस्था बनाउन सहयोग हुन्छ न त नागरिकको जीउधनकै सुरक्षा । ताजुब त के भने ओलीले नागरिकको जीउधनको रक्षाका लागि यो दस्ता तयार भएको भनिदिनुभयो।

यति कुराबाट बुझिन्छ, एमाले राज्यको सुरक्षा संयन्त्रको समानान्तर संगठन बनाएर सरकारलाई धम्याउन खोजिरहेको छ। किनभने शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकको जीउधनको रक्षा गर्ने काम सरकारी सुरक्षा संयन्त्रको हो, प्रहरीको हो। न कि कुनै दलको भ्रातृ संगठनको। सरकारी सुरक्षा संयन्त्रमाथि दबाब सिर्जना गर्ने र त्यसमार्फत सरकारलाई नै दबाबमा राख्ने एमालेको नियत हो।

ओलीले यतिमात्र भन्नुभएको छैन, उहाँले सिधा भन्नुभएको छ– कसैले शान्ति भंग गर्न खोज्छ भने यो दस्ताले प्रतिरोध गर्छ । यो हिंसाका विरूद्ध हो, लुटपाट र तोडफोडका विरूद्धमा हो। ओके, मानियो । तर तोडफोडका विरूद्धमा यो दस्ता हो भने तोडफोड गर्ने, लुटपाट गर्ने र हिंसा गर्नेहरूलाई यो समूहले के गर्छ ? प्रष्ट छैन। प्रष्ट छ त केबल एमाले मुठभेड चाहन्छ।

यो कुरा ओलीजत्तिकै सिधा रुपमा यो संगठनका परिकल्पनाकार महेश बस्नेतले पनि भन्नुभएको छ – जहाँ अवरोध, त्यहाँ प्रतिरोध । जगजाहेर छ, नेकपा एमाले आफ्ना विरोधी र आफ्ना आलोचकविरूद्ध निर्मम भएर प्रस्तुत हुनेछ । मिडिया र बौद्धिक जगतमाथि जाइलाग्ने कामको नेतृत्व त अध्यक्ष ओली स्वयंले गर्नुहुनेछ। 

त्यसको उदाहरण यसभन्दा अगाडि पटकपटक हामीले देखेकै छौं। परिवर्तित राजनीतिक परिदृश्यमा अब एमालेलाई सडकमा विरोधी स्वरहरू दबाउनका लागि यस्तै एउटा ताजा दस्ता चाहिएको थियो। युथ फोर्स आफैं वृद्ध भइसकेको अवस्थामा आदेश पालक तर तन्दुरूस्त संगठनको रूपमा एमालेले यो दस्ता खडा गरेको हो भन्नेमा कुनै दुइमत छैन।

ओली भन्नुहुन्छ – यो फोर्स आतंकका विरूद्धमा होइन म भन्दिन । उहाँ अनुशासनको पनि कुरा गर्नुहुन्छ। तर सडकमा एमालेका कार्यकर्ताले कस्तो अनुशासन देखाउलान् ?

किन भने ओली नै निर्देशनात्मक भाषणमा भन्नुहुन्छ - यो पानी बाँड्ने संस्थामात्र होइन।

अध्यक्ष ओलीको भनाइलाई पुष्टि गर्दै नवगठित एमाले भ्रातृ संगठन उर्फ सुरक्षा दस्ताका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठ भन्नुहुन्छ - हामी पनि तपाईँहरुको घर घर छिर्नेछौं ।

निर्वाचन घोषणा भइसकेको छ। सरकार निर्वाचनको वातावरण बनाउने प्रयासमा छ। नेकपा एमाले चुनावको विपक्षमा छ। सरकारले भनेजस्तै साँच्चै चुनावको वातावरण बन्दै गयो भने एमाले दबाबमा पर्नेछ। तर एमाले राजनीतिको पुरानो र चतुर खेलाडी हो। आफ्नो पक्षमा नहुने राजनीतिक वातावरण, आफ्नो विपक्षमा हुने निर्वाचन र आफू कमजोर भएर बन्ने शान्ति सुव्यवस्था उसका लागि स्वीकार्य छैन। यो नै एमालेले नेसनल युथ फोर्स नामको सुरक्षा दस्ता खडा गर्नुको मुख्य कारण हो।

तर यसलाई लोकतान्त्रिक कसरी मान्ने ? एमालेले जतिसुकै चर्को स्वर गरे पनि, कसैले उसको विरोध गर्यो भने जाइलाग्ने उसको रणनीति लोकतान्त्रिक होइन। बरू राज्यको सुरक्षा संयन्त्रमाथि अविश्वास गरेको ठहर्छ, कानुन र विधिको उपहास गरेको ठहर्छ ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका निमित्त समाचार प्रमुख हुन् ।