ताप्लेजुङ । सिँचाइ अभावकै कारण यस वर्ष ताप्लेजुङका किसानले मुस्किलले धान खेती लगाएका थिए ।
किसानहरू यतिबेला मौसम अनुकूलता हेरेर धान भित्र्याउने चटारोमा छन् । असार/साउन र कार्तिक/मंसिर महिनालाई पुर्वी नेपालका किसानले मानो खाएर मुरि भित्र्याउने समयको रूपमा लिन्छन् । नेपालको प्रमुख खाद्यबाली धान भएकाले यहि बाली लगाएका किसान यतिबेला धान काट्ने, काटेको परालसहितको धान जसलाई निन भनिन्छ ।
त्यसलाई खेतमै सुकाउने, सुकेको निन उठाएर खलामा पुर्याउने र धान/पराल छुट्याउने गरिन्छ । अहिले पूर्वी पहाडका अधिकांश किसान धान ढिकुटीमा हाल्न र पराल माच बनाएर राख्न व्यस्त छन् । एक नगरपालिका र आठ गाउँपालिका गरी नौ वटा स्थानीय तहमा ६१ वटा वडा रहेको ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला बाहेकका सबै वडामा धान खेती हुन्छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर जमीनमा धानखेती हुने गरेको छ । समयमा वर्षा नहुँदा यसवर्ष ४ हजार ७ सय ९७ हेक्टर अर्थात् ८४ दशमलब ६ प्रतिशतमा मात्रै रोपाइँ भयो । १६ प्रतिशतमा खेती लागेन । गतवर्ष ९८ दशमलब ५ प्रतिशतमा रोपाइँ भएको थियो ।
आफ्नै जिल्लामा उत्पादित धानले ताप्लेजुङलाई ६ महिनापनि खान पुग्दैन । तर पनि किसानले बाली लगाउने र भित्र्याउने परम्परागत पेसालाई जीवन्तता दिने कामलाई भने निरन्तरता दिइरहेका छन् ।