
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ ।
बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य विमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताउनु भयो ।
उहाँले बिमा कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनु भयो । गरिब वर्ग, अपांग तथा अशक्तलगायत वर्गका लागि कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि बताउनु भयो । जनताले प्रिमियम तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाई थियो ।
प्रधानमन्त्री कार्कीले बिमा कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानूनी व्यवस्था तय गर्न लागेको पनि बताउनु भयो ।