कञ्चनपुर क्षेत्र नम्बर १ का मतदातासमक्ष उम्मेदवारका एजेण्डा के ?

माघ २१, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुर क्षेत्र नम्बर १ का मतदातासमक्ष उम्मेदवारका एजेण्डा के ?

कञ्चनपुर । कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै चुनावी माहोल तातेको छ । कञ्चनपुरका तीन क्षेत्रमध्ये कम विकसित मानिने क्षेत्र नम्बर १ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता समक्ष आफ्ना एजेन्डा लिएर मैदानमा उत्रिनु भएको छ । 

कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ विकासका दृष्टिले पछाडि परे पनि सम्भावनाको ठूलो क्षेत्र मानिन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा यहाँ चुनावी सरगर्मी तीव्र बनेको छ । निर्वाचन आयोगका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । जसमा विभिन्न राजनीतिक दलका १५ जना तथा स्वतन्त्र ४ जना उम्मेदवार रहनु भएको छ ।

पूर्व खानेपानी मन्त्री समेत रहनुभएकी बिना मगर नेपाली कम्युनिष्ट पार्टीबाट यस क्षेत्रमा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा निर्वाचित भई मन्त्री बन्नु भएकी मगर संसदीय निर्वाचनमा २०७० र २०७९ मा पराजित हुनुभएको थियो । यस पटक अपूरा विकास योजनालाई निरन्तरता दिन र सामाजिक न्याय तथा समावेशितालाई प्राथमिकतामा राख्दै मतदातासँग पुगिरहनु भएको छ ।

जेनजी पुस्ताको प्रदर्शनपछि विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ पुनः एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ । प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री समेत रहिसक्नुभएका तामाङ २०७९ मा भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ रोजगारी सिर्जना, युवालाई आत्मनिर्भर बनाउने योजना र दिगो विकासलाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानमा हुनुहुन्छ ।

नेपाली काँग्रेसले यस पटक युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाउनु भएका उपाध्याय सामाजिक सेवामार्फत परिचित हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउँदै मतदाता भेटघाट गरिरहनु भएको छ ।

नयाँ शक्तिका रूपमा उदाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी उम्मेदवार हुनुहुन्छ । स्वच्छ छविका कारण उहाँको उम्मेदवारीले मतदातामा नयाँ आशा जगाएको छ । सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व उहाँको मुख्य मुद्दा हो ।

यस क्षेत्रमा सीमा अतिक्रमण, भूमिहीन र सुकुम्बासी समस्या, आरक्षपीडित, बाढी तथा डुबान, मानव–वन्यजन्तु द्वन्द्व, अव्यवस्थित बसोबास जस्ता समस्या प्रमुख रूपमा देखिएका छन् । सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, भन्सार नाकाको स्तरोन्नति तथा भौतिक पूर्वाधार विकास नै मतदाताबीच मुख्य बहसका विषय बनेका छन् । सबै उम्मेदवार विकास र समृद्धिको नारा लिएर मैदानमा हुनुहुन्छ । कञ्चनपुर क्षेत्र नम्बर १ मा कुन उम्मेदवारले मतदाताको विश्वास जित्न सक्नुहुन्छ भन्ने चासो बढेको छ । उम्मेदवारको पृष्ठभूमि, प्रतिबद्धता र घोषणापत्रको मूल्याङ्कन गर्दै सही प्रतिनिधि छनोट गर्ने जिम्मेवारी अब मतदाताकै हातमा छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।