सप्तरीमा शिक्षित परिवारमै दाइजोको निहुँमा बुहारीमाथि हिंसा

अदालतको आदेशपछि पनि पीडित महिला असुरक्षित
कार्तिक ३०, २०८२ |आरएन विश्वास
सप्तरीमा शिक्षित परिवारमै दाइजोको निहुँमा बुहारीमाथि हिंसा

सप्तरी । दाइजो तिलकको माग राखी महिलामाथि हिंसा गर्नु कानुनीरूपले दण्डनीय अपराध हो । 

शिक्षा र चेतनाको अभावमा यस्ता घटना बारम्बार दोहोरिइरहेको भनिरहँदा सप्तरीमा शिक्षित परिवारमै दाइजो तिलकसँग जोडिएका हिंसाको घटना अदालतसम्म पुगेको छ । नर्स र इन्जियरको जोडीलाई सामुदायिक विद्यालयका शिक्षक रहेका केटाका बुबाले छुटाउन खोज्दा पीडित महिला असुरक्षित छन् ।

पेसाले विद्यालय नर्स रहेकी सप्तरीको कञ्चनरूप नगरपालिका-७ धरमपुरकी संजिता साह र रूपनी गाउँपालिका-३ मकरी टोलका इन्जिनियर सन्देश साहबीचको प्रेम सम्बन्धलाई आधिकारिकता दिन ९ जेठ २०८१ मा पर्सा जिल्ला अदालतबाट कानूनी विवाह भयो । तर, विवाहको १३ महिनामै दुवै जनाबीच सम्बन्ध राम्रो नरहेको भन्दै सन्देशको तर्फबाट संजितासँग अलग हुनपाउँ भनी ३ असार २०८२ मा पर्सा जिल्ला अदालतमा अंश मुद्दा पर्‍यो । 

उता आफू सन्देशसँगै उसकै घरमा बस्छु भनेर संजिताको तर्फबाट पनि मुद्दा पर्‍यो । यही बीचमा संजितालाई परिवारले यातना दिँदै घरनिकाला गर्‍यो । त्यसपछि संजिताले सप्तरी जिल्ला अदालतमा पति सन्देश, ससुरा शिक्षक धर्मदेव साह र सासु किरणविरूद्ध दिएको घरेलुहिंसाको मुद्दामा गएको २३ असारमा अदालतले संजितालाई घरमा बस्न, खान दिनु, कुटपिट नगर्नु र शिष्ट र सभ्य व्यवहार गर्नभन्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गर्‍यो । अदालतको आदेशपछि पनि घरमा बस्न नदिएको, घर गएको बेला परिवारजनबाट पुनः कुटपिट हुनथालेपछि संजिता न्यायका लागि भौतारिइरहनुभएको छ ।

अदालतबाट आफूहरूको कानूनी विवाह भइसकेको अवस्थामा ससुराले दाइजोको विषय फेरि उठाएर आफ्ना पतिलाई आफूसँग टाढा राखेर अलग गराउन षडयन्त्र रचेको आरोप संजिताको छ । संजिताका पति सन्देशले आफू कानूनअनुसार नै अघि बढ्ने बताएका छन् भने सासुले छोराले नै बुहारीलाई राख्न नचाहेको अवस्थामा आफूहरूले घरमा कसरी राख्ने भन्ने जवाफ दिएकी छन् ।

शिक्षित जोडीले आफ्नै राजीखुसीले गरेको विवाहमा पनि पछि परिवारको दबाब र दाइजो लालच जोडिँदा विगतमा सप्तरीमै केही महिलाको ज्यानसमेत गइसकेको छ । सामुदायिक विद्यालयको शिक्षकजस्तो व्यक्तिले दाइजोतिलकलगायतका सामाजिक कुरीतिविरूद्ध सचेतना फैलाउनुको साटो आफ्नै घरमा दाइजोको निहुँमा महिलामाथि गरेको हिंसा निन्दनीय र दण्डनीय छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।