काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको दुई महिना पुग्न लाग्यो ।
तीन महिनाको समयावधि पाएको आयोगसँग अब मात्र एक महिना १० दिन समय बाँकी छ । आयोगले रफ्तारमा काम गरेको जिकिर गरे पनि कार्यादेशअनुसार काम नगरेको आशंका जेन-जीका अगुवाहरूले गर्न थालेका छन् । दुई महिनासम्म प्रहरीका केही अधिकारीसँग मात्रै बयान लिएको आयोग राजनीतिक नेतृत्वसम्म कहिले पुग्ला?
निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले अबकास पाएको भोलिपल्टै स्थानहद तोक्यो । जबकी खापुङ सेवामै हुँदा उहाँलाई अनुसन्धानमा तानिएन । बरू प्रहरी अधिकारीको बयान लिने वा नलिनेमा आयोग र खापुङबीच मतभेद भयो । सेवानिवृत्त भएपछि मात्रै खापुङविरूद्ध स्थान-हद तोकिएपछि शंका उत्पन्न भएको छ ।
आयोगले हालसम्म १७ जनाको मात्र बयान लिएको छ । बयान दिनेहरूमा अधिकांश प्रहरीका अधिकारी छन् । नख्खु कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर बयान थालेको आयोगले अरू राजनीतिज्ञसँग बयान लिएको छैन । घटनामा संलग्न भएका भनिएका अन्यसँग कहिले बयान हुन्छ यकीन जवाफ आयोगसँग छैन ।
आयोगले आधाभन्दा धेरै समय व्यतित गर्दासम्म पनि राजनीतिक नेतृत्वसँग बयानसम्म लिन नसक्नुले जेन-जीहरूले नै आशंका गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहितलाई स्थान हद तोकेको आयोगले त्यसको जानकारी भने सम्बन्धित व्यक्तिलाई दिएको छैन ।
त्यसो त गौरीबहादुर कार्की नेतृत्वको आयोग सुरूवातदेखिनै विवादमा तानियो । कहिले अध्यक्ष कार्कीले विगतमा दिएका अभिव्यक्तिले विवादमा तानियो भने कहिले जेन-जीको माग र सरकारले दिएको कार्यादेशअनुसार काम गर्न नसकेको भनेर । सरकारले निर्वाचनको माहोल बनाउँदै लगेको छ । यस्तो अवस्थामा पार्टीका मुख्य नेता र निवर्तमान प्रहरी प्रमुखलाई स्थानहद तोकेर हिँड्डुलमा रोक्ने, जानकारी नदिने र बयानमा पनि नबोलाउनुले आयोग आलोचनाको केन्द्रमा परेको हो ।
सार्वजनिक महत्त्वको घटनाको जाँचबुझ गर्न बनेको आयोगलाई कुनै व्यक्तिको बयान लिने, लिखत पेसका लागि आदेश दिने, प्रमाण बुझ्ने, कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट कुनै लिखत वा त्यसको नक्कल झिकाउने अधिकार कानुनले दिएको छ । छानबिनमा सरकार, आयोग, राजनीतिक नेतृत्व र अधिकारीले कुनै आग्रह पूर्वाग्रह नराखि तथ्यको नजिक पुग्न एक अर्काले सहयोग गर्नु नै निकास हो ।