अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्ने नेपाल-भारतबीच सहमति

गैरकानुनी घुसपैठ, भन्सार छलीलगायतका अपराध रोकथाम र सीमा सुरक्षा व्यवस्थित गरिने
कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्ने नेपाल-भारतबीच सहमति

काठमाडौं । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशका अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्ने सहमति भएको छ । 

यसैगरी सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने र त्यसको अभिलेख राख्ने सहमतिसमेत भएको छ । भारतको दिल्लीमा सम्पन्न नवौं 'नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक'ले दुवै देशका अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन गर्नेको 'रियल टाइम रेकर्ड' संकलन गर्ने सहमति गरेको हो । 

यस्तो अभिलेख दुवै देशका फिल्डमा रहेका युनिटदेखि केन्द्र आ-आफ्ना हेडक्वार्टरमा पनि राखिने छ । नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशकस्तरीय बैठकले गैरकानुनी घुसपैठ, भन्सार छली/तस्करीलगायत सीमापार अपराध रोकथाम तथा नियन्त्रण र सीमा सुरक्षालाई व्यवस्थित गर्ने सहमति गरेको छ । 

दुवै देशले आ-आफ्नातर्फ सीमा सुरक्षामा खटिने बोर्डर आउट पोस्ट बिओपी र पर्यटक हेल्प डेस्कमार्फत आवागमन अभिलेख राख्ने सहमति भएको हो । दुवै देशका सीमा सुरक्षा प्रमुखस्तरीय 'सीमा सुरक्षा समन्वय बैठक' दुवै देशले एक-एक वर्षमा आलोपालो गर्दै आएका छन् । आठौं बैठक २०८१ साल मंसिरमा काठमाडौंमा बसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.