
काठमाडौं । राजनीतिक दलहरुले भने स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले अझै विश्वासको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले आज राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको आसन्न निर्वाचनको कार्यक्रम तय गर्न गरेको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले सरकारले विश्वासको वातावरण बनाउन नसकेको बताएका हुन् । सरकारले चुनावको वातावरण नबनाइ आयोगले निर्वाचनको कार्यतालिका ल्याएको भन्दै असन्तुष्टिसमेत जनाए ।
कतिपय दलका प्रतिनिधिले त सरकारले दलहरुलाई निषेध गरेको आरोपसमेत लगाए । चुनावका लागि सरकार, आयोग र दलहरुबीच सौहार्दपूर्ण वातावरण बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
दलका प्रतिनिधिहरुले जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदीबन्दी पक्राउ नगरेसम्म निर्वाचनको वातावरण बन्न नसक्ने बताए । आयोगले बोलाएको छलफलमा नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएनन् ।