काठमाडौं । सरकारले फिर्ता बोलाएका राजदूतहरू अहिले परराष्ट्र मन्त्रालयमा आएर हाजिर गर्ने र फर्कने गर्न थालेका छन् ।
केही राजदूतले आफू फर्किएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् तर हाजिर भएका छैनन् । फर्किएका राजदूतहरूले राजीनामा दिने अपेक्षा सरकारले गरेको थियो । तर उनीहरूले राजीनामा नदिई मन्त्रालयमा आउने र हाजिर गरेर फर्कने गर्न थालेपछि के काम लगाउने भन्नेमा सरकार अलमलमा परेको छ । फिर्ता बोलाइएका राजदूतहरू बस्न मन्त्रालयमा दुई वटा कोठा छुट्याइएको छ ।
सरकारले गत असोज ३० गते ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर त्यसविरूद्ध रिट परेपछि सर्वोच्च अदालतले कात्तिक १६ गते सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशको बेवास्ता गर्दै सरकारले कामकाजका लागि परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।
देशको प्रतिनिधित्व गर्ने राजदूतहरूलाई मन्त्रालयमै बोलाएर सरकारले बरन्डामा थन्काएको भन्दै आलोचनासमेत भइरहेको छ । अर्कोतर्फ राजदूतहरू पनि मार्गप्रसस्त गर्न भन्दा पर्ख र हेरको अवस्थामा देखिएका छन् ।