निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेदेखि दल दर्ता गराउनेसम्मको उत्साह

पछिल्लो ४ दिनमै झन्डै ६० हजार मतदाता थपिए
कार्तिक २२, २०८२ |अमर क्षितिज भण्डारी|अञ्जना लामिछाने
निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेदेखि दल दर्ता गराउनेसम्मको उत्साह

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नदेखि दल दर्ता गराउनेसम्मको उत्साहजनक सहभागिता देखिन थालेको छ । 

मतदाता नामावलीमा नाम संकलन र दल दर्ताको समय अब ८ दिनमात्रै बाँकी छ । मतदाता नामावलीमा नाम संकलन तथा दल दर्ताको समय सकिन लाग्दा निर्वाचन कार्यालयहरूमा चहलपहल बढेको हो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली संकलनको समय ८ दिनमात्रै बाँकी रहँदा उमेर पुगेका युवाहरूमा नाम दर्तामा उत्साह देखिएको छ । 

चाडपर्वको समयमा केही सुस्त भए पनि निर्वाचन कार्यालयहरू अहिले नाम दर्ता गर्नेहरूको भीड लाग्न थालेको छ । आयोगका सातवटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । भ्रष्टाचारविरूद्ध र सुशासनका लागि आन्दोलन गरेका जेन-जी युवा मतदानमार्फत चाहेका प्रतिनिधि छान्न उत्सुक छन् ।

निर्वाचन आयोगले जेन-जी युवालाई नै लक्षित गरी अध्यादेशमार्फत् मतदाता नामावली संकलन खुला गरेको हो । १६ वर्ष पुगेकादेखि वृद्ध-वृद्धासमेत लाइनमा बसेर नाम दर्ता गरिरहेका छन् । आयोगले असोज ९ गतेदेखि सुरू गरेको नामावली संकलनमा करिब डेढ लाख नयाँ मतदाता थपिएको जनाएको छ । 

यो संख्या पछिल्लो तीन दिनमा बढेको हो । चार दिनअघि करिब ९० हजार हाराहारीले नाम दर्ता गराएकामा पछिल्लो चार दिनमै करिब ६० हजार मतदाता थपिएका छन् । आयोगले राजनीतिक दलदेखि स्थानीय तहसम्मलाई मतदाता नामावलीमा नाम संकलनका लागि सहयोगको अपीलसमेत गरिरहेको छ ।

यता, नयाँ दल दर्ता गर्ने समय नाै दिन बाँकी रहँदा राजनीतिक दलहरूमा पनि उत्साह देखिएको छ । जेन-जी आन्दोलनपछि निर्वाचनमा भाग लिन भन्दै १५ वटा नयाँ दलले आयोगमा दर्ताको निवेदन दिएका छन्। शुक्रबारमात्रै आयोगमा ५ दलले निवेदन दिएका छन् । आयोगले ती दललाई यही कात्तिक ३० गतेसम्म दर्ताको प्रमाणपत्र दिइसक्नुपर्नेछ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।

Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।