धान काटेपछि बाँकी रहेका पराल खेतमै जलाउँदा माटोको उर्वराशक्तिमा ह्रास, वायुमण्डलमा समेत असर

कार्तिक २२, २०८२ |भुवन पाण्डे
धान काटेपछि बाँकी रहेका पराल खेतमै जलाउँदा माटोको उर्वराशक्तिमा ह्रास, वायुमण्डलमा समेत असर

रूपन्देही । तराईका अधिकांश किसानले धान काटेपछि बाँकी रहने अवशेषलाई सजिलोको लागि जलाउने गरेका छन् । 

तर, यसले माटो बिगारिरहेको छ भन्ने अधिकांश किसानले हेक्का गर्दैनन् । खेतमा आगो लगाउँदा के असर गर्छ त । पछिल्लो समय धेरै किसानले धान काटेपछि खेतमा बाँकी रहने पराल र अवशेष जलाउने गरेका छन् । किसानहरूका अनुसार पराल जलाउँदा खेत जोत्न सजिलो हुने, मल बन्ने र रोग-किरा नियन्त्रण हुन्छ ।

तर, कृषि विज्ञहरूका अनुसार यस्तो गर्नाले माटोको उर्वराशक्ति घट्दै जान्छ । आगोले माटोभित्रका स-साना जीवाणु मर्छन्, जसले माटोलाई कठोर र निर्जीव बनाउँछ । पराल जलाउँदा नाइट्रोजन, फस्फोरस, कार्बनजस्ता पोषक तत्व धुवाँमा उड्छ यसले अर्को बालीमा मलको आवश्यकता बढाउँछ । धुवाँले हावा प्रदूषित बनाउँछ । 

प्रदूषित हावामा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र धुलोका स-साना कण हुन्छन्, जसले सास फेर्न गाह्रो हुने, आँखा पोल्ने र वायुमण्डल तातो बनाउँछ । बारम्बार आगो लगाउँदा माटोको माथिल्लो सतह कडा हुँदा पानी सोस्ने क्षमता घटाउँछ र बाली सुक्ने सम्भावना बढाउँछ । चराचुरूङ्गी, कीरा, माछा र जमिनमा बस्ने अन्य प्राणीहरूको बासस्थान पनि नष्ट हुने कृषि विज्ञहरूको भनाइ छ ।

मेसिनले धान काट्दा धेरै पराल बाँकी रहने भएकाले यो समस्या अझ बढेको हो । तर विश्व बजारमा पराल संकलन गर्ने विशेष मेसिन उपलब्ध छन् । नेपालमा केही किसानले प्रयोग गरे पनि पर्याप्त मेसिन नहुँदा धेरै किसानले अझै प्रयोग गर्न सकेका छैनन् । धान काटेपछि बाँकी पराल जलाउनु सजिलो उपाय हो, तर दीर्घकालमा माटो, वातावरण र स्वास्थ्यका लागि हानिकारक छ । 

यदि पराललाई अर्गानिक मल वा बायोग्यास बनाउन प्रयोग गर्न सके, त्यसले वातावरण स्वच्छ र माटोमा सुधार हुनुको साथ-साथै किसानको आम्दानी समेत बढ्ने छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।