
काठमाडौं । जेन-जी आन्दोनबाट पुर्णरूपमा क्षति पुगेको कर्णाली प्रदेश सभा पुनर्निर्माणमा प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न आनाकानी गरेपछि हिउँदे अधिवेशन नै अन्यौलमा परेको छ ।
कोशी प्रदेशमा भने प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारस्थलमा अस्थायी संरचना बनाइँदैछ । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा कर्णाली प्रदेश सभामा पुर्णरूपमा क्षति पुगेको छ ।
प्रदेश सरकारले आन्दोलनबाट झन्डै १९ करोड ५७ लाख रूपैयाँको क्षति ब्यहोर्नुपरेको छ । त्यसमध्ये कर्णाली प्रदेश सभामा मात्रै झन्डै ४ करोड बराबरको क्षति पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ । माघमा प्रदेशसभाको हिउँदे अधिवेशन चलाउन सचिवालयले आन्तरिक स्रोतबाट रंङरोगनसहित सरसफाइ गर्न थालेको छ । प्रदेश सभा सचिवालयले सभा हल पुनर्निर्माण गर्ने वा अन्य विकल्पबाट सभा सञ्चालन गर्ने विषयमा भने छलफल भइरहेको जनाएको छ ।
आगजनीबाट प्रदेश सभा बैठकस्थल, सचिवालय, दलका कार्यालय, विभिन्न समितिका कार्यालयका संरचना ध्वस्त भएका छन् । कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा आगामी माघ २१ गते प्रदेश सभाको हिउँदे अधिवेशन सुरू हुनुअघि नै नियमित बजेटबाटै अस्थायी सभा हल निर्माण गर्ने भएको छ तर कार्यव्यवस्था तथा परामर्श बैठकबाट दलहरूले अस्थायी सभा हल बनाएर सभा सञ्चालन गर्न सरकारसहितको बैठक बोलाउन सुझाव दिए पनि त्यसो हुन सकेको छैन ।
प्रदेश सरकारले पुनर्निर्माण संघीय सरकारसँग सहयोगको अपेक्षा राखेको छ । हिउँदे अधिवेशनका लागि प्रदेश सभाभित्रै रहेका विकल्पबाट सञ्चालन गर्न सरकारले निर्देशन गरेपनि बजेटको स्रोत सुनिश्चित भने गरेको छैन । उता जेन-जी आन्दोलनमा ध्वस्त भएको कोशी प्रदेश सभाको प्रसासनिक काम हाल डाटा सेन्टर र सुरक्षाकर्मीको ब्यारेकबाट भइरहेको छ । प्रदेश सभा बैठक सञ्चालनका लागि भौतिक संरचनाको खोजी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले खुलाउन नचाहे पनि अवरूद्ध कोशी प्रदेश सभा बैठक आगामी मंसिरबाट मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोकबजारस्थलबाट चलाउने तयारी भइरहेको छ । अस्थायीरूपमा सभा सञ्चालन गर्न त्यहाँ नयाँ संरचनाको तयारी भइहरेको हो ।
यसअघि प्रदेशसभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृहको चर्चा भए पनि सभागृहको भाडालगायतका कुरामा सार्वजनिकरूपमा प्रश्न उठेपछि नि:शुल्क रूपमा उपलब्ध कटहरी गाउँपालिकाको कृषि थोकबजारस्थलको टुंगो लागेको हो ।