आन्दोलनकारीका टाउकामा घातक 'मेटल बुलेट'

भदौ २३ गते मारिएका अधिकांशमा कम्मरमाथि गोली लागेको पुष्टि
कार्तिक २०, २०८२ |कृपाल गौतम
आन्दोलनकारीका टाउकामा घातक 'मेटल बुलेट'

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ गते तत्कालीन सरकारले गरेको दमनमा मारिएका अधिकांशमा कम्मरमाथि गोली लागेको पुष्टि भएको छ । मृतकको पोस्टमार्टम रिपोर्टमा अधिकांशको छाती र टाउकोमा गोली लागेको देखिएको हो । २३ गते प्रहरीले जथाभावी गोली चलाउँदा २१ जनाको मृत्यु भएको थियो भने २४ गतेको घटनामा समेत गरेर ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा ४९ वटा शव पोस्टमार्टम गरिएकोमा ३४ जनाको गोली लागेर मृत्यु भएको देखिएको हो । यो सुरक्षाको दृष्टिले तत्कालीन सरकारको कमजोरी भएको जानकारहरुको दाबी छ ।

गत भदौ २३ भएको जेन–जी आन्दोलन र २४ गते भएको घटनाका क्रममा देशभर गरी ७६ जनाको मृत्यु भयो । मृतकमध्ये ४९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको हो । पोष्टमार्टम रिपोर्टमा ३४ जनालाई गोली लागेको पाइएको छ । यी सबैको कम्मरभन्दा माथि नै गोली लागेको पाइएको छ। ११ जनालाई टाउकोमा, १६ जनालाई छाती, ४ जनालाई पेट र ३ जनालाई घाँटीमा गोली लागेको पाइएको हो । गोली लागेकाबाहेक ८ जनालाई टाउको, छाती र पेटमा चोट लागेको तथा केही जलेको अवस्थामा ल्याइएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले बताउनुभएको छ ।

बाँकी ७ जनाको शरिर बौद्धको भाटभटेनीमा पुरै जलेको अवस्थामा फेला परेका थिए । उनीहरुको अझै पहिचान खुलेको छैन । उनीहरुको डिएनए परीक्षण गर्नसमेत कठिन रहेको चौधरीले बताउनुभयो ।

पोस्टमार्टम गर्दा एक जनालाई ३ वटा रबरको बुलेट लागेको पाइएको छ भने बाँकी सबैमा मेटलको बुलेट लागेको देखिएको छ । अधिकांश मृतकको छातीमाथी प्रहार भएको बुलेट हाइ भेलोसीटी फायर आर्मबाट चलाइएको पोस्टमार्टमबाट देखिएको छ। हाइ भेलोसीटी राइफल फायर आर्मबाट फायर भएको बुलेट हाइ पावरको हुन्छ भने यसमा गन पाउडर बढी हुने भएकाले लो भेलोसीटीले बनाउने घाउको प्रकृति र हाइको प्रकृति फरक हुने चिकित्सक बताउँछन् । हाइ भेलोसीटीलेले शरीरमा जहाँ लागेको छ, त्यहाँ मात्र हैन, शरीरभित्रका अन्य अंगमा समेत ठूलो क्षति पुर्‍याउँछ । मृतकको पोस्ट मार्टम गर्दा त्यस्तै देखिएको छ ।

अस्पतालको भनाइ सुन्दा भदौ २३ गतेको घटनामा सुरक्षाकर्मीबाट शक्तिशाली हतियारबाट नै गोली चलाएको पुष्टि हुन्छ । भीड नियन्त्रण गर्न सामान्यत यस्ता हतियारको प्रयोग हुँदैन । तर २३ गते शक्तिशाली हतियार प्रयोग गरेर सुरक्षामै चुक भएको र त्यही कारण स्थिति नियन्त्रणबाहिर गएको पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारीको भनाइ छ ।

अब प्रश्न उठछ, हाइ भेलोसीटी फायर आर्मको प्रयोग किन भयो ? के आन्दोलन तथा भिडभाडका बेला यस्तो हतियारले ठूलो क्षति निम्त्याउँछ भन्ने हेक्का थिएन ?

अस्पतालले गरेको पोस्टमार्टम रिपोर्ट र सुरक्षा विज्ञहरुको भनाइ हेर्ने हो भने जेन–जीको आन्दोलन रोक्न प्रहरीले अनावश्यक बल प्रयोग गरेको हो । त्यसमा पनि भिड नियन्त्रणका लागि गैरघातक हतियारको प्रयोग गरे पुग्ने अवस्थामा घातक हतियार किन प्रयोग गरियो ? अधिकांश मृतकको कम्मरभन्दा माथिको भागमा गोली लागेको तथ्यले उब्जाएको अर्को प्रश्न हो, यसको आदेश कहाँबाट दिइयो ? गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले यसबारे सत्यतथ्य बाहिर ल्याउँछ कि ल्याउँदैन ? चासोको विषय छ।

जेन–जीको २३ गतेको आन्दोलन र त्यसपछि २४ गते भएको घटनाक्रममा मृत्यु भएका ७६ जनामध्ये सरकारले ४५ जनालाई शहीद घोषणा गरेको छ । नेपाली सेनाले भने जेन–जीको आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ । त्यसैगरी ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको सेनाको तथ्यांक छ । तर जे भए पनि आन्दोलनमा ठूलो मानवीय क्षति हुनुमा तत्कालीन सरकारको गम्भीर लापरबाही नै देखिएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।