ललितपुर । ललितपुरको पाटन डबलीमा सोमबार मध्यरातमा तान्त्रिक कार्तिक नाचको नृसिंह अवतार देखाइएको छ ।
३ सय ८५ वर्ष पुरानो मल्लकालीन कार्तिक नाचमा देवीदेवताका नृत्य प्रस्तुत गरिन्छन् । यो नाच धार्मिक सामाजिक र साँस्कृतिक संगमको रूपमा लिइन्छ । लोक गायन, खीं, ताः र पोङ्गा जस्ता परम्परागत वाद्यबादनको तालमा नाचिने कार्तिक नाचमा भक्त सुरदास प्याख, बाथ प्याख, युद्धकला, देवी प्याख, जल शयण, बराह अवतार, हिरण्याक्ष वध, नृसिंह अवतार, हिरण्यकश्यपु वध, वस्त्रहरण लिला, दधिलिलाजस्ता प्याँखहरु प्रस्तुत गरिन्छन् । कार्तिक नाचको विशेष आकर्षण भनेको हिरण्यकश्यपु बध हो ।
कार्तिक नाचमा देवगणको भूमिकामा नाच्दानाच्दै साँचिकै देवीशक्ति आउने कलाकारहरू बताउँछन् । मल्लकालमा एक महिनासम्म चल्ने यो नाच अहिले दशदिनमा सीमित भएको छ । तत्कालीन राजा सिद्धिनरसिंह मल्लले ३ सय ८५ वर्ष पहिले सञ्चालन गरेको यो नाच मुलुककै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा लिइन्छ । श्रीकृष्णको चरित्रबाट प्रारम्भ हुने कार्तिक नाच धार्मिक सामाजिक र साँस्कृतिक संगमको रूपमा लिइन्छ ।
कातिक १० गतेबाट १० दिनसम्म सञ्चालन हुने यो नाचमा देवगण, कलाकार, बाद्यबादक, लोकगायन गरी झन्डै डेढ सय जना कलाकार सहभागी हुन्छन् । नाच देखाउन दिनहुँ दुई लाखका हिसावले १० दिनमा २० लाख रूपैयाँ खर्च हुन्छ । नाचको सरक्षणका लागि ललितपुर महानगरपालिकाले १ करोड रूपैयाँ अक्षयकोषको व्यवस्था गरे पनि नपुग भएपछि चन्दा मागेर संस्कृतिलाई जीवन्तता दिइरहेको नाच व्यवस्थापन समितिको भनाइ छ ।
मल्लकालको जीवन्त संस्कृति झल्काउने कार्तिक नाच धार्मिक र सामाजिक रूपमा अहिले पनि उत्तिकै महत्वका साथ हेरिन्छ ।