
काठमाडौं । विभिन्न माग राखी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तीन दिनअघि लगाइएको ताला मंगलबार खुलेको छ ।
पार्टीका युवा नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका नतोकिएको भन्दै गत आइतबार लगाएको ताला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै खुलेको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कार्यवाहक सभापतिले आफूहरूका माग कार्यान्वयनका लागि तीन बुँदे प्रतिबद्धता जनाएसँगै ताला खोलिएको जानकारी दिनुभयो ।
कार्यवाहक सभापति र आन्दोलनरत पक्षबीच कांग्रेसको चालु केन्द्रीय समितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको तालिका तोक्ने, विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने सहमति भएको छ ।
यस्तै, पार्टीभित्र ४० वर्षमुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकाले त्यसबारे छलफल गरी माग सम्बोधन गर्न लाग्नेबारे सहमति भएको हो ।